मनमोहन स्मृति प्रतिष्ठानमा वृद्धाभत्ताबारे बहसः पुनरवलोकन गर्न सुझाव

नेपालभ्युज

मनमोहन स्मृति प्रतिष्ठानमा वृद्धाभत्ताबारे बहसः पुनरवलोकन गर्न सुझाव

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरू जुटेका छन्। गत निर्वाचनमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेका छन्।

हरेक निर्वाचनमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ज्येष्ठ नागरिकका सवाललाई आशन्न स्थानीय तहको निर्वाचनमा दलको प्रतिबद्धतापत्रमा प्राथमिकतामा पार्न पहल शुरु गरेको छ।

२०५२ मा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा शुरु भएको वृद्धभत्तालाई वृद्धिसहित निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन थालिएको छ। प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक संवाद कार्यक्रममा ज्येष्ठ नागरिक र यससम्बन्धी काम गर्ने सामाजिक संस्था र विज्ञहरूले वृद्ध भत्ता वितरणको ढाँचामा भने पुनरवलोकन गर्न सुझाव दिएका छन्।

अर्थविद् डा चन्द्रमणि अधिकारीले धनी र गरिबबीचको वर्गीकरणका आधारमा गरिब भएका ज्येष्ठ नागरिकलाई मात्रै भत्ता दिने या ज्येष्ठ नागरिकको लिभिङ कष्ट व्यहोर्ने भन्ने नीतिमा सरकार स्पष्ट हुनुपर्ने बताए। डा अधिकारीले सरदर आयुमा आउने भिन्नताबीच बीच ज्येष्ठ नागरिक भत्ता दिने उमेर ७० को मापदण्ड सबै भूगोलका लागि ठीक या बेठीक भन्ने बहस चलाउन आग्रह गरे।

ज्येष्ठ नागरिक महिलाका सवालमा काम गर्दै आएको एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतमले विपन्न र धनी दुवैलाई एकैसाथ उत्तिकै वृद्धभत्ता दिइरहनुको सान्दर्भिकता नहुने तर्क राख्दै वितरणको वैज्ञानिक मापदण्ड बनाउन माग गरे। अनुसन्धान र प्राध्यापनमा संलग्न डा पदम खतिवडाले कुनै ज्येष्ठ नागरिकले ८० वर्ष उमेरसम्म सियोमा धागो हाल्न सक्ने गरी आँखा देख्न सक्ने र कुनैले त्योभन्दा कम उमेरमा पनि त्यो काम गर्न नसक्ने भएकाले सबैलाई एउटै बास्केटमा राखेर हेर्न नहुने उल्लेख गर्दै पुस्तान्तरणको साटो अन्तरपुस्ताको आवधारणाबाट काम गर्न सुझाव दिए।

ज्येष्ठ नागरिक दिव्येश्वर साहले गत निर्वाचनमा वाम गठबन्धनले मासिक पाँच हजार वृद्धभत्ता दिने घोषणा गरेको र हाल चार हजार मात्र रहेको बारे ध्यानाकर्षण गराउँदै भत्ता बढाउन आग्रह गरे। ज्येष्ठ नागरिक फटिक थापाले समुदायमा आधारित दिवा स्याहार केन्द्र खोलिनुपर्ने बताए। ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत वसन्त कार्कीले सय वर्ष नाघेका नागरिकलाई विशिष्ट नागरिकको उपाधिसहित सम्बन्धित पालिकाले सम्पूर्ण पालनपोषणको जिम्मा लिनुपर्ने बताए।

अर्का ज्येष्ठ नागरिक राजाराम पन्तले यस क्षेत्रका संस्थाको क्षमता विकास र भ्रमणको अनुभव उपलब्ध गराउन आग्रह गरे। ज्येष्ठ नागरिक समाजका महासचिव सोमनाथ सापकोटाले अशक्त ज्येष्ठ नागरिकलाई घरघरमै गएर भत्ता र सेवा दिने गरी घोषणापत्र ल्याउन सुझाव दिए। उनले घर परिवारले हेर्न नसक्ने वा परिवार नभएका ज्येष्ठ नागरिकका लागि हरेक पालिकामा वृद्धाश्रम आवश्यक रहेको बताए।

सुझाव श्रवणपछि प्रतिष्ठानका अध्यक्ष एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिकको कल्याणका लागि आफ्नो पार्टी सधैं तत्पर रहेको र आगामी निर्वाचनमा कस्ता मुद्दालाई ध्यान दिनुपर्ने भन्नेबारे प्राप्त सुझावलाई नीतिगत र व्यवहारिक तहमा कार्यान्वयनमा लगिने विश्वास दिलाए।

एमालेको घोषणापत्र तयारी समितिका संयोजक पूर्वउपप्रधानमन्त्री पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीबाट ९ वैशाखमा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved