रुपन्देहीमा मतदाता सङ्ख्या बढ्यो

नेपालभ्युज

रुपन्देहीमा मतदाता सङ्ख्या बढ्यो

रुपन्देही । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ।
स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदाता नामावली छाप्ने, मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण माग गर्ने काम भइरहेको कार्यालयले जनाएको छ।

आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा रुपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन्। अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन्। मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो। सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रुपन्देही चौथो जिल्ला हो।

यसअघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए।
मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन्। तीमध्ये तीन लाख २३ हजार ७७८ पुरुष र तीन लाख आठ हजार ५७४ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका नासु टीकाराम पन्थीले जानकारी दिनुभयो। अन्य मतदाताको सङ्ख्या आठ रहेको छ।

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले १३ हजार ३४५ मतदाता बढेका छन्। बुटवल उपमहानगरपालिकामा अहिले ९० हजार ६५ मतदाता छन्। अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको थियो।

यसैगरी जिल्लाका पाँच नगरपालिकामध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन्। विसं २०७४ स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। यस अघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved