सुर्खेत। कर्णालीका हिमाली जिल्ला डोल्पा, मुगु, हुम्ला र जुम्लाको उडान प्रभावित भएको छ। डोल्पा, मुगु, हुम्ला र जुम्लामा नियमित उडान भर्ने विमान कम्पनीहरू पूर्वतिर लागेपछि कर्णालीको उडान प्रभावित भएको हो।
पर्यटक ओसार्न जहाजहरू पूर्वतिर लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित भएको हो।
कर्णालीमा नियमित उडान नहुँदा विमानस्थलमा बिरामी सर्वसाधारण र कर्मचारीलगायत यात्रुहरू अलपत्र परेका छन्।
जहाज नहुँदा विमानस्थलमा यात्रुहरू अलपत्र परेका मुगु रारा विमानस्थलका प्रमुख सन्तोषकुमार गौतमले जानकारी दिए। “जहाज अभावका कारण सुर्खेत, नेपालगञ्ज, काठमाडौंतिर गएका कर्मचारी स्थानीय र व्यापारीलाई आफ्नो जिल्ला फर्कन पनि गाह्रो भएको छ,” उनले भने, “नेपालगञ्ज र सुर्खेत विमानस्थलमा जहाज नहुँदा यात्रुलाई मुगु, हुम्ला, जुम्ला र डोल्पा जान कठिन भएको छ।”
निजी एयरलाइन्सले हिमाली जिल्लामा दैनिक एक-एक ओटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी कर्णालीमा उडान ठप्प गरेका छन्। जहाजहरू पूर्वतर्फ लागेपछि रारा घुम्न जाने पर्यटकलाई पनि असर परेको पर्यटन व्यवसायी राजु कार्कीले बताए।
Facebook Comment
Comment