शिवसताक्षीमा चक्रपथ निर्माण, धमाधम कालोपत्र हुँदै

नेपालभ्युज

शिवसताक्षीमा चक्रपथ निर्माण, धमाधम कालोपत्र हुँदै

झापा। शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ। चक्रपथ निर्माण भएसँगै स्थानीयवासीसमेत खुसी भएका छन्।

शिवसताक्षी नगरपालिका–३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकामा खुसी व्यक्त गरे। उनले भने, “हिउँदमा साइकलमा आवतजावत गरे पनि वर्षाको समयमा चप्पल खोलेर हिँड्थ्यौँ, अब सरसर कालोपत्र बाटोमा हिँड्न पायौँ।”

नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै पञ्चवर्षीय योजनाअनुरुप चक्रपथ निर्माण सुरु भएको थियो। सो रोड निर्माणका लागि हालसम्म रु २० करोडको लगानी भइसकेको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए।

नगरका सबै वडासम्म कालोपत्र पुर्‍याउने उद्देश्यले बनाइएको रिङरोडका लागि सबै सडकमा ग्राभेल र कल्भर्ट निर्माण गर्ने काम सकिएको उनको भनाइ छ।

उनले ३९ किलोमिटर रिङरोडमध्ये हालसम्ममा १० किलोमिटर बढी कालोपत्र भइसकेको बताए। रिङरोडभित्रै करिब नौ किलोमिटर क्षेत्र पूर्वपश्चिम राजमार्गको परेको छ। बाँकी कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।

नगरप्रमुख शेर्माले ३९ किलोमिटरको रिङरोड निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, रु एक करोड ३० लाख प्रदेश नं १ सरकारको लगानी र बाँकी रु ११ करोड ७० लाख नगरको रहेको बताए।

चक्रपथभित्रमात्रै ५३ साना–ठूला कल्भर्ट निर्माण गरिएको उनले जानकारी दिए। सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न चक्रपथ प्रभावकारी हुने नगर उपप्रमुख भोजकुमारी नेपालले बताए।

चक्रपथ निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सहज भएको छ।

चक्रपथलाई दुधे–शिवगञ्ज, झिलझिले–महाभारा र धरमपुर–पाँचगाछीको वैकल्पिक मार्गको रूपमा समेत गर्न सकिने उनको भनाइ छ।

चार ट्रङ्करोड

चक्रपथबाट सिधा शिवसताक्षी नगर कार्यपालिकाको कार्यालयमा जोडिन चार ‘ट्रङ्करोड’ निर्माण गरेको छ। नगरप्रमुख शेर्माले रु तीन करोड ६३ लाखको लागतमा सो सडक निर्माण गरिएको जानकारी दिए।

शुक्रबारे–लालझोडा, बहिदार चोक हुँदै नगरपालिका, मङ्गलबारे–धौलेचोक हुँदै नगरपालिका, पारावारी–सरस्वती प्राथमिक विद्यालय–धौलेचोक हुँदै नगरपालिका र माईधार–चिल्लागढ हुँदै नगरपालिकासम्म पुग्ने ट्रङ्करोड निर्माण गरिएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved