सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर
सांकेतिक तश्वीर

बनेपा। के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन्। जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ।

संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ।

स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरुपमा ‘केही गरौँ’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ।

कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी सङ्ख्यासहित सञ्चालनमा आउनु, विद्यार्थी सङ्ख्यो घट्दो भएको कुशादेवी माध्यामिक विद्यालयमा आकर्षणसहित विद्यार्थीको उपस्थिति बढ्नु, भालेश्वर माध्यमिक विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य बोधलाई पुनःजागृत गराउनुले उक्त उदाहरणलाई सहज पुष्टि गर्दछ।

आफ्ना पेसागत र व्यावसायिक काम छाडेर व्यवस्थापन समितिका पदाधिकारी शनिबार नगरस्तरीय विद्यालयको सुधारमा आफ्नो भूमिकाको खोजीमा अग्रसर हुँदै इन्द्रेश्वर माध्यमिक विद्यालयमा भेला भएर अनुभव आदान प्रदान गरिरहेका थिए।

धनेश्वर माविका अध्यक्ष अनिरुद्र थापाले भने, “भत्ता आउने वा फाइदा हुने काममा मात्रै अभिभावक र शिक्षक सक्रिय हुने प्रचलनलाई अन्त्य गरेर निःस्वार्थ भावनाले लाग्ने हो भने विद्यालय सुधार्न सकिन्छ।” उनले शिक्षक विद्यालयमा नियमित नआउने, समयमा कक्षाकोठामा नजाने वा चाँडै घर जाने प्रवृत्ति रोक्न पनि समितिले अनुगमन गर्नुपर्ने बताउँछन्।

“शिक्षक ढिला आएमा विद्यालय पस्न नदिने र चाँडै भाग्न खोजेमा नदिन गेट बन्द गरेर थुनेको अनुभव पनि छ मसँग, सुधारका लागि यो आवश्यक छ।”

विद्यार्थी नभएर करिब आठ वर्ष बन्द भई खारेजीको स्थितिमा पुगेको धनेश्वर माविमा अनिरुद्रले आफ्ना छोरालाई नर्सरीमा भर्ना गरेर विद्यालय सञ्चालनको थालनी गरेका थिए।

भौतिक र पूर्वाधार विकास गर्दै अभिभावका घरघरमा पुगेर विद्यार्थी पठाउन आग्रह गरिएको र सो क्रममा त्यहाँका अस्थायी बासिन्दा रहेका अभिभावकले छोराछोरी पठाएर साथ दिएको थापाले बताए।

आफ्नो विद्यालयको तुलनामा कम सुधार भएको देखिएपछि इन्द्रेश्वर माविका प्रधानाध्यापक उमारुद्र बस्नेतलाई सम्झाउँदै त्यहाँ भेला भएका समितिका अध्यक्षले सुधारका लागि उपाय र सुझाव दिएका थिए।

कोभिड–१९ अगाडिको तुलनामा इन्द्रेश्वरमा विद्यार्थी सङ्ख्या घटेर हाल कक्षा १ देखि १२ सम्म ४१५ जना रहेका छन्। यहाँ कूल शिक्षक २० जना मात्रै हुँदा कुनै शिक्षकले बिदा लिएर कक्षा बन्द गर्नुपर्ने स्थिति छ भने अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क उपलब्ध नहुने भएकाले तिर्न नसक्ने अभिभावकलाई मार परेको छ।

अनिरुद्रका साथ कुशादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसीलगायतले विद्यालयको परिसरमा रहेका फोहर सरसफाइ गर्न, नियमित पोसाक लगाउन, शिक्षक नआएमा रिपोर्ट गर्न कक्षाकोठामा गएर विद्यार्थीलाई पनि अनुरोध गरे।

पहिलो बालमैत्री नगर मानिने पनौतीका नगरप्रमुख भीम न्यौपानेका अनुसार नगरभित्र हाल ३४ सामुदायिक विद्यालय रहेकामा तिनमा गुणस्तर सुधारका लागि नीतिगत र बजेटको तर्जुमा गरिएको क्रमशः शैक्षिक सुधार हुँदै गएको छ।

नगरस्तरीय व्यवस्थापन समितिमा थापा

पनौती नगरस्तरीय विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घको भेलाले कुशादेवी माविका अध्यक्ष श्रीकृष्ण थापाको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा शिव आधारभूत विद्यालयका विदुर सापकोटा, सचिवमा धनेश्वरका अनिरुद्र थापा, कोषाध्यक्षमा इन्द्रेश्वर माविका दण्डपाणि फुयाँल, सदस्यमा राजेन्द्र केसी, सरस्वती बस्नेत, फूलमाया तामाङ, टेकप्रसाद तिमिल्सना र नानीराम सापकोटा चयन भएका छन्। समितिले रिक्त सदस्यपछि पूर्ति गर्नेछ।

महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण थापाले सो नगरस्तरमा व्यवस्थापन समितिका पदाधिकारी र सदस्यलाई तालिम दिइएको र उनीहरुको चासोमा राष्ट्रिय महाधिवेशनपूर्व जिल्ला र पालिकास्तरमा समिति गठन, पुनःगठन भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved