विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरूको माग

नेपालभ्युज

विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरूको माग
प्रतिकात्मक फोटो।

काठमाडौं। उद्योगी व्यवसायीले विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विद्युत्को आपूर्ति नियमित गर्न आग्रह गरेका हुन्।

“औद्योगिक क्षेत्रमा विद्युत्को आपूर्ति अनियमित भएदिँदा उद्योगीमा अन्योल बढ्दै गएको छ। अनियमित विद्युत् आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक कोरिडोरका उद्योग सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको छ,” विज्ञप्तिमा भनिएको छ।

उद्योगी व्यवसायीले विद्युत्मा देखिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, आकस्मिक रूपमा विद्युत् आपूर्ति बन्द हुँदा करोडौँ रुपियाँ पर्ने मेसिनमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार, कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुन सक्ने र सामान डेलिभरी, बैङ्कको चर्को ब्याज र साँवा भुक्तानीमा समस्या पर्ने भन्दै सरकार र प्राधिकरणको ध्यानाकर्षण गरेको छ।

संयुक्त विज्ञप्तिमा उल्लेख छ, “एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिनासूचना घण्टौँ विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता बढाएको छ। यस अवस्थाको अन्त्य गरी औद्योगिक वातावरण निर्माणतर्फ ध्यान दिन सरोकारवालामा आग्रह गरिएको छ। ”

उद्योगी व्यवसायीले बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र चर्को ब्याजबाट थलिएका उद्योग व्यवसायलाई अघोषित लोडसेडिङको अर्को समस्याले थप सङ्कटतर्फ धकेलेको गुनासो गरेका छन्।

यो समस्या तत्काल समाधान नभएमा नेपालमा औद्योगिक वातावरणमा थप नकारात्मक सन्देश प्रवाह हुने, स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत निरुत्साहित गर्ने, उद्योगहरू बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुनुका साथै सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर भन्दै सरकार र प्राधिकरणको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved