काठमाडौं। नेपाली इतिहासका दस्तावेज पल्टाउने हो भने त्यहाँ घोडाको प्रसंग प्रशस्त आउँछन्। ऐतिहासिक भित्तेचित्रमा घोडा चढेर यात्रा गरेका चित्र कोरिएका भेटिन्छन्। भक्तपुर दरबार स्क्वायरभित्र त घोडा पाल्ने चलनले अहिले पनि निरन्तरता पाइरहेको छ।
घोडा पाल्ने मात्रै होइन, काठमाडौं उपत्यकामा हरेक वर्षको चैत कृष्ण औंशीका दिन उपत्यकामा घोडेजात्रा मनाइन्छ। काठमाडौंको टुँडिखेलमा घोडा दौडाएर घोडे जात्रा मनाइन्छ।
नेपालमा राजतन्त्र रहँदासम्म घोडेजात्रा तीन दिन मनाइन्थ्यो। त्यतिबेला बसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई वीरताको प्रतीक घोडामा बसालेर टुँडिखेलमा ल्याइ पूर्ण सम्मानका साथ आशन ग्रहण गराइन्थो। टुँडिखेलमा शाही सेनाले २१ तोपको सलामी चढाउँथ्यो। त्यसपछि व्यायाम, खेल कला कौशल र परेड प्रदर्शनमा राजा, राजपरिवारका अन्य सदस्य, संवैधानिक अंगका प्रमुख, मन्त्रीगण, प्रहरी, सेनाहरूको ठूलो उपस्थिती रहन्थ्यो। तर अहिले घोडेजात्रा एक दिनमै सकिन्छ। राष्ट्रपति लगायतले घोडे जात्राको अवलोकन गर्छन्।
घोडेजात्राको शुरुआत मल्लकालीन राजा जयप्रकाश मल्लको पालादेखि चलेको मानिन्छ। राणा प्रधानमन्त्री जुद्धशम्शेरको पालामा घोडे जात्राको चलनमा थप परिमार्जन भएको पनि भनिन्छ। जुद्धशम्शेर विदेश गएका बखत त्यहाँ घोडा दौड हेरेर आएको र आफ्नो देशमा पनि घोडा दौडको प्रतियोगिता परम्परा बसालेको बताइन्छ।
किंवदन्ती अनुसार काठमाडौं उपत्यका पहिलेदेखि देवीदेवता बसोबास गर्थे। ती देवीदेवतालाई टुडी(गुरुपामा) नामको राक्षसले आक्रमण गरेर पीडा दिइरहन्थ्यो। उक्त राक्षसले उपत्यकामा बस्ने मानिसहरूलाई पनि त्यत्तिकै दुःख दिइरहन्थ्यो। बालबच्चाहरू त देख्नासाथ मारेर खाइदिन्थ्यो। त्यो हदसम्मको चरम अत्याचार सहन नसकेपछि सबै उपत्यकावासीहरू एक भएर उक्त राक्षसमाथि जाइ लागे। जनताको आक्रामक भीडले राक्षसलाई पक्रियो र आज टुँडिखेलभित्र रहेको खरीको रुख छेउको स्थानमा जिउँदै गाडिदिए। त्यही टुडी राक्षस गाडेको ठाउँको नाम नै टुँडिखेल रहन गएको थियो।
राक्षस नभएपछि खुशीयाली स्वरूप घोडेजात्राको परम्परा बस्यो। तर राक्षस बलशाली भएकोले मरेको छैन कि भनेर तर्सिन थाले। केही गरी त्यो अत्याचारी राक्षस उठेर आयो भने उसले बदलाको भावनाले पुरा शहरै ध्वस्त बनाउँछ भन्ने त्रासले त्यस राक्षसलाई जमिनमाथि आउन नदिन सो स्थानमा वर्षेनी घोडा दौडाउने, टापले कुल्चाउने र सैनिक कवाज खेलाउने तथा अन्य विभिन्न खेल तमासा होहल्ला गराएर दबाबमा राख्न यो चलन चलाएको मानिन्छ।
काठमाडौं उपत्यकामा मनाइने पाहां चह्रेको दोस्रो दिन घोडेजात्रा पर्छ। यसदिन उपत्यकावासीले विवाहित छोरी र दिदी–बहिनीहरूलाई माईतमा बोलाएर भोज खुवाउने पनि चलन छ।
यही दिन सेना र प्रहरीले नयाँ सडकसँगै रहेको घोडाको मुख्य देवता रेवन्त महाराजको पूजा गरी बोकाको बलि चढाउँछन्। सिंहदरबारमा पनि बोकाको बलि दिइ घोडेजात्रा सफलताको कामना गरिन्छ।
पहिलेपहिले घोडेजात्रा सँगै भद्रकाली जात्रा (रथयात्रा)को पनि चलन थियो। टुँडिखेल नजिकै भद्रकाली मन्दिर स्थापना भएपछि चैतकृष्ण औंशीका दिन यो जात्रा हुने गर्थ्यो। जात्रा हेर्न राजा आउँथे। राजाका साथ मन्त्रीगण, दरबारीयाको लावालस्कर हुन्थ्यो।
पहिलेपहिले घोडेजात्राको दिन तबेलाबाट एउटा मात्र घोडा निकालेर उसलाई मद्यपान गराएर दौडाउने गर्थे। अचेल त्यो प्रथा छैन। तालिमप्राप्त सयौं घोडा प्रयोग गरेर टुँडिखेलमा विभिन्न खेल र दौड गरिन्छ।
मल्लकालमा पाटनवासीहरूलाई घोडेजात्रामा समावेश गर्न छुटाएकाले ललितपुरमा छुट्टै घोडेजात्राको (एउटा मात्र घोडा दौडाउने) चलन रह्यो, भनिन्छ। उपत्यकावासी नेवारहरूले यस दिन गुठीद्वारा भेला भई राँगा काट्ने, देवताको पूजा गर्ने, नायखिं बाजा बजाएर रमाइलोसाथ भोज खान्छन्।
Facebook Comment
Comment