जनतामा एकचोटि फेरि माओवादीप्रति आकर्षण बढेको छः प्रचण्ड
नेपालभ्युज
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा एकपटक फेरि माओवादीप्रति आकर्षण बढेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू देशभरि घुमेको भन्दै अहिले एकचोटि फेरि साँच्चै संविधान गणतन्त्र र समावेशिता अनि देशलाई अफ्ठ्यारोबाट रक्षा गर्ने माओवादी केन्द्र नै रहेछ भन्ने बुझाइ जनतामा रहेको उनले बताए।
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरू प्रस्ट रहेको पनि उनले बताए।
गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने दुविधा नरहेको उनले बताए। निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रित रहेको प्रचण्डको भनाइ थियो।
“गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौँ। अब निर्वाचन अगाडि छ। र गठबन्धनचाहीँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रस्टै छौँ। नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन। हामी मिलेर नै जान्छौँ।”
अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताए। अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए।
देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि उनले बताए।
उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गरे। पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उनले बताए।
Facebook Comment
Comment