काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको कार्यकारणी समिति बैठक बुधबारदेखि शुरु भएको छ।
स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा लोसपाले कार्यकारणी समिति बेठक गरेर निर्वाचनकेन्द्रित रणनीति बनाउन लागेका हुन्। यसअघि लोसपाले जनकपुर, वीरगञ्ज, भैरहवा र नेपालगन्जमा पार्टी प्रशिक्षण कार्यक्रम गरेको थियो।
२८ सदस्यीय लोसपाको कार्यकारणी समिति बैठकमा बुधबार एजेण्डाहरू प्रस्तुत गरिएको छ। र त्यसमाथि नेताहरूले बोल्ने क्रम शुरु भएको छ। बैठकमा स्थानीय निर्वाचनसहित सरकारसँग पछिल्लो समयमा पार्टीका शीर्ष नेताहरूले गरिरहेको संवादबारे छलफल शुरु भएको छ। बैठक बिहीबार पुनः बस्ने लोसपाले जनाएको छ।
लोसपा नेता जितेन्द्र सोनलका अनुसार बुधबार पार्टी अध्यक्ष ठाकुरले बैठकमा विषय प्रवेश गराएका छन्। सोनलले अध्यक्ष ठाकुरले मुख्य गरी निर्वाचनसँग सम्बन्धति विभिन्न मुद्दाबारे एजेण्डा बनाएर प्रस्तुत गरेका छन्।
उक्त एजेण्डाहरूमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रम शुरु भएको सोनलले बताए। नेताहरूले निर्वाचनसहित सरकारबारे पनि बोलेका सोनलले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवासँग केही हप्ता अगाडि लोसपा शीर्ष नेताहरूको संवाद भएको थियो। जुन संवादबाट लोसपाले उठाउँदै आएको मुद्दाहरू सम्बोधन गर्ने गरी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका नेताद्वय सर्वेन्द्रनाथ सुक्ला र लक्ष्मणलाल कर्ण सम्मिलित तीन सदस्यीय कार्यदल बनेको थियो।
यो बीचमा यो कार्यदलको दुई पटक बैठकसमेत भएको छ। गत आइतबार लोसपा अध्यक्ष ठाकुर पुनः प्रधानमन्त्रीसँग भेट गरेका थिए।
गत भदौमा जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरसहित नेताहरूले लोसपा नेपाल गठन गरेका थिए। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच विवाद भएपछि ठाकुर पक्षले छुट्टै दल दर्ता गराएका थिए।
नयाँ दल गठन गरेको ८ महीनामा लोसपाको एक पटक मात्रै कार्यकारणी समिति बैठक बसेको छ। पार्टी गतिविधिमा सुस्त देखिएको लोसपा निर्वाचन नजिकिएपछि पार्टी गतिविधिमा केन्द्रित हुन थालेको छ।
Facebook Comment
Comment