सबस्टेशन उद्घाटन गर्दै प्रचण्डले भनेः हामीले लोडसेडिङ आश्चार्यजनक तरिकाले हटायौं

नेपालभ्युज

सबस्टेशन उद्घाटन गर्दै प्रचण्डले भनेः हामीले लोडसेडिङ आश्चार्यजनक तरिकाले हटायौं

काठमाडौं। सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन्।

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो। मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेशनभित्र छिराएर बाहिर निकालिएको (Line In Line Out-LILO) छ।

हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशत्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए।

“विगतमा दैनिक १५/१६ घण्टाको लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडीत थियौं,तर हामीले लोडसेडिङ आश्चर्यजनक रूपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं, अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं,” प्रचण्डले भने, “इच्छाशक्तिसहित इमानदारीसाथ साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिंदो रहेछ भन्ने पुष्टि भएको छ, लोडसेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ।”

प्रचण्डले मलुकका मुख्य शहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत् मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे। चितवनबाट संघीय सांसदसमेत रहेका प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन्। भनिन्, “पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०/५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं।”

कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमतार ३३/११ केभी, १६।६ एमभिए क्षमताका एक/एक ओटा पावर ट्रान्सफर्मर रहेका छन्। सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ। यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन्।

यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ। सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नु पर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए। स्थानीय, जनप्रतिनिधि, प्रशासन लगायतबीच पटक–पटक छलफल गरिएको भएता पनि समस्या समाधान हुन नसकेको उनले उल्लेख गरे।

पूर्वी चितवन सबस्टेसन निर्माण २०७५को जेठबाट शुरु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved