गण्डकीका मन्त्री थापाले तलबभत्ता सामाजिक कामका लागि दिए

नेपालभ्युज

गण्डकीका मन्त्री थापाले तलबभत्ता सामाजिक कामका लागि दिए

पोखरा। गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्।

मन्त्री थापाले विकास, निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्।

२०७७ साल माघदेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए। मन्त्री थापाले तलब भत्ता र सेवा सुविधाको रकममा व्यक्तिगत रकम थप गरी खर्च गरेका हुन्।

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रूपमा नलिएको दोहोर्‍याए। “राजनीति मेरा लागि सेवा हो। पेशाका रूपमा कदापि लिएको छैन। मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन। तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निःस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखि नै त्यसैमा प्रतिबद्ध छु,” उनले भने।

मन्त्री थापाले आफू प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको बताए। उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि आफू प्रतिबद्ध रहेको समेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved