“नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई सदुपयोग गर्न सकेन”

नेपालभ्युज

“नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई सदुपयोग गर्न सकेन”

काठमाडौं। नेपाल-चीन सम्बन्धका जानकार डा. राजीव झाले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताएका छन्।

उनले चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताए। झाले नेपाल र चीन सरकारबीच शनिबार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धीका कुनै पनि योजना नपर्नु अनौठो भएको बताए।

उनले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भए पनि त्यसबारे कुनै पनि सम्झौताबारे सरकारले कुरा उठाउन नसकेको बताए। यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताए।

डा. झाले भने, ‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन। नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन। कारण के हो भने हिजो जब द्वीपक्षिय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरू हस्ताक्षर गर्ने कुराहरू थिए। त्यसमा बीआरआई सम्बन्धिका योजनाहरू एउटा पनि परेको देखिएन। यो अचम्मको कुरा भयो। मैले सुनेको वाङ यी आउँदा विशेष रुपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरू जुन २०१९ अक्टुबरमा प्रेसिडेन्ट सीको भिजिट हुँदा भएको थियो त्यसलाई नै अघि बढाउने कुरो थियो। तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन। कारण नेपाली पक्षले तयार नगरेको पनि देखियो। गर्न नचाहेको हो कि जस्तो पनि देखियो। नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन।”

जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराए पनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गरे।

शुक्रबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किएका छन्।

स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved