मतपत्रको रङ र उम्मेदवार मनोनयनको समयप्रति एमालेको असन्तुष्टि

नेपालभ्युज

मतपत्रको रङ र उम्मेदवार मनोनयनको समयप्रति एमालेको असन्तुष्टि

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ।

नेकपा (एमाले)को आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो।

त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

एमालेले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी सो संरचना निर्माणका काम रोक्न लगाई आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकले आम उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको आरोपसमेत लगाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र र प्रतिवद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको बताए।

एमालेले आगामी ९ वैशाखमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सो निर्वाचनका लागि चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved