वाङ यीसँग प्रचण्डले भने : पश्चिमा राष्ट्रले घेर्दैछन्, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौं

नेपालभ्युज

वाङ यीसँग प्रचण्डले भने : पश्चिमा राष्ट्रले घेर्दैछन्, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौं

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता गरेका छन्।

चिनियाँ परराष्ट्रमन्त्री वाङले ‘एक चीन’ नीतिमा नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए।

इण्डो प्यासिफिक क्षेत्रमार्फत पश्चिमा शक्तिले चीनलाई घेर्ने नीति लिएको बताएका प्रचण्डले चीनविरुद्ध आफ्नो भूमि कुनै पनि हालतमा प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएका हुन्। चीन वरिवरि पश्चिमा शक्ति विशेषगरी अमेरिकाको चासो बढेको भन्दै प्रचण्डले छिमेकी देश भएका नाताले पनि चीनको सुरक्षा चासोलाई सम्बोधन गर्ने बताए।

“कुनै पनि मुलुकले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्ने नेपालले कल्पना गरेको छैन,” अध्यक्ष दाहाललाई उद्धृत गर्दै माओवादी नेता शक्ति बस्नेतले भने, “बीआरआई परियोजना बढाउन पनि हामी प्रतिबद्ध छौँ।”

नेपालमा चिनियाँ लगानीमा सञ्चालन भइरहेका विभिन्न परियोजना तीव्र हिसाबमा सञ्चालन गर्ने आवश्यक वातावरण बनाउन पनि नेपाल तयार रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रतिबद्धता जनाए। कोभिड महामारीका समयमा चीनको सहयोगलाई पनि प्रचण्डले खुलेर प्रसंशा गरे।

नेता बस्नेतका अनुसार दाहालले चिनियाँ परराष्ट्रमन्त्रीसँग नेपाल चीन व्यापारमा बढ्दै गएको घाटालाई सम्बोधन गर्ने विषयमा चीनले ठोस कदम चाल्नुपर्ने बताए। यस्तै उत्तरी नाका, तातोपानी र रसुवा सुचारु रूपमा सञ्चालन गर्न पनि प्रचण्डले वाङ यीसँग आग्रह गरे।

माओवादी अध्यक्ष दाहालसँगको भेटवार्ताका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताउँदै नेपालको सार्वभौमिकत्ता सम्मान गर्न चीन प्रतिबद्ध रहेको बताए।

यस्तै नेपालको विकासमा चीनले यसअघि गरेको प्रतिबद्धता पालना गर्न चीन तयार रहेकोसमेत चिनियाँ परराष्ट्रमन्त्रीले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved