भरतपुर मेयर कपको उपाधि चितवनलाई

नेपालभ्युज

भरतपुर मेयर कपको उपाधि चितवनलाई

चितवन।  यहाँ भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ।

दुई सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो।

दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए। चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै छ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै तीन विकेट लिए।

पहिलो इनिङमा चितवनले ५५ ओभरमा नौ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो। उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए।

मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै पाँच विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै तीन विकेट लिए। पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो। उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए।

पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर पाँच विकेट लिए भने गौतम केसीले १०।४ ओभरमा दुई विकेट लिए।

प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले आठ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए। चितवनका कृजन गुरुङले आठ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे।

प्रतियोगिताका विजेता चितवन र उपविजेता मकवानपुरलाई समापन समारोहका भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरे।

सो क्रममा बोल्दै उहाँले यस प्रकारको प्रतियोगिताले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग गर्ने बताए।

कार्यक्रम नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको प्रवर्द्धक संस्थामा भरतपुर महानगरपालिका रहेको थियो भने चितवन जिल्ला क्रिकेट सङ्घले समन्वय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved