एनएसएल अनिश्चित, आयोजकले नै अघि सार्‍यो शर्त

नेपालभ्युज

एनएसएल अनिश्चित, आयोजकले नै अघि सार्‍यो शर्त

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल अनिश्चित बनेको छ। ए डिभिजन क्लबहरूले असन्तुष्टि जनाइरहेका बेला आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र आबद्ध १० क्लबहरूले आज एक विज्ञप्ति जारी गर्दै शर्तहरू अघि सारेका छन्।

१० क्लबहरूको संयुक्त विज्ञप्तिमा पूर्वनिर्धारित समय २५ चैतदेखि १ जेठसम्म हुने प्रतियोगिता खेल्न नसक्ने लेखिएको छ।

ए डिभिजन क्लबहरूको माग सुनुवाइ गर्नुपर्छ भनेर वार्ता गरे पनि निष्कर्षमा नपुगेको र टास्क फोर्सले समस्या समाधान गर्न ढिला गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘आयोजक र १० वटै क्लबको प्रतियोगिता तयारीका लागि ठूलो धनराशी खर्च गरिसकेको र समय अभावका कारण खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतिगोगितामा सहभागी हुन असमर्थ भएका छौं।’

एन्फाले खेलाडीहरू उपलब्ध गराई सहयोग गर्नुपर्ने भए पनि एन्फाकै पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रतिनिधित्व गर्ने क्लबबाट खेलाडी उपलब्ध नभएकाले छोटो समयमा प्रतियोगिता गर्न सम्भव नभएको उनीहरूको निष्कर्ष छ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र १० क्लबले एन्फा र पदाधिकारी नै एनएसएलप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन्। प्रतियोगिता हुनुभन्दा १५ दिन अघि मात्र स्वीकृति दिनु र मोफसलका गोल्डकपलाई जुधाएर स्वीकृति दिनुले एन्फा पदाधिकारीहरू पूर्वाग्रही भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

एनएसएल आयोजक र १० क्लबले हाल कायम रहेको सम्झौता स्वतः नवीकरण हुने र प्रतियोगितालाई वार्षिक क्यालेण्डरमा अन्य प्रतियोगितासँग नजुध्ने गरी भदौ-असोजमा राख्नसमेत एन्फासँग माग गरेका छन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माथि उल्लेखित विषयहरूको उचित सम्बोधन गरी प्रतियोगिता सञ्चालनका लागि एन्फाद्वारा सहजिकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभातिाका लागि हामी असमर्थ छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved