सुखद् रहेन एकदिवसीय त्रिकोणात्मक सिरिज, ब्याटिङले धोका दिइरह्यो

नेपालभ्युज

सुखद् रहेन एकदिवसीय त्रिकोणात्मक सिरिज, ब्याटिङले धोका दिइरह्यो

काठमाडौं। खराब फर्ममा रहेको ब्याटिङलाई सुधार्दै नेपालले यूएईमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पीएनजीविरुद्ध सात विकेटको शानदार जित हात पारेको छ। नेपालका दुई ब्याटरले अर्धसतकीय पारी खेल्दा नेपालले १७४ रनको लक्ष्य १३ ओभर अघि नै पूरा गरेको थियो।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको जारी सिरिजमा लगातार खराब ब्याटिङका कारण राम्रो छाप छोड्न नसेकेको नेपाल अन्तिम खेलमा पीएनजीलाई हराएर सुखद् अन्त्यको खोजीमा थियो।

लिग-२ मा पीएनजी सबैभन्दा कमजोर टिम हो। यसै सिरिजमा मात्र १५ औ खेलमा आएर पीएनजीले पहिलो जित हात पार्नेक्रममा यूएई हराएको थियो। सिरिजको पहिलो खलमा पनि नेपालले दुई विकेटले पराजित गरेको थियो।

खेलमा नेपाली अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई बेञ्चमा नै राखेर भिम सार्कीलाइै एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गराएको थियो।

खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले शुरुआत राम्रो गर्‍यो। तेस्रो ओभरमा नै करण केसीले ओपनार उरालाई ६ रनमा आउट गरे। सोमपाल कामीको बलमा लेगा सियाका पनि २० रनमा आउट हुँदा १० ओभरमा मात्र ३३ रन जोड्दा पीएनजीले दुवै ओपनर गुमाएको थियो।

नेपालको कसिलो बलिङ सामु पीएनजीको विकेट लगातार खसिरहयो भने रनमा अकुंश लाग्यो। १७ औं ओभरमा सन्दीपले चार्लस् अमिनीलाई १३ रनमा आउट गरे। यसपछि आरिफ शेखले अर्का ब्याटर रिली हेकुरेलाई मात्र १ रनमा बोल्ड आउट गर्दा पीएनजी ६८ रन चार विकेटको अवस्थामा पुग्यो।

विकेट जोगाउने प्रयासमा पीएनजीले निकै सुस्त व्याटिङ गर्‍यो। कप्तान आसाद भालाले पीएनजीको धरापमा परिसकेको इनिङलाई जोगाउने प्रयास गरेका थिए। उनी ९६ बलमा ४५ रन जोड्दा पवन सर्राफको बलमा आउट भए।

यसबाहेक नेपाली धारिलो बलिङ सामु अन्य ब्याटरले गतिलो स्कोर बनाउन नसक्दा पीएनजीले ५० ओभरको पुरै खेल खेले पनि ८ विकेटको क्षतिमा मात्र १७३ रन जोड्न सक्यो।

बलिङमा किफायती बलिङ गर्दै कप्तान सन्दीपले १० ओभरमा मात्र २९ रन खर्चेर दुई विकेट लिएका थिए। सोमपालले पनि दई विकेट झार्दा करण केसी, आरिफ शेख, पवन सर्राफ र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए।

एकदिवसीय खेलमा १७४ रनको लक्ष्य सामान्य हो। तर यूएईसँगको अघिल्ला खेलमा पनि सामान्य लक्ष्य पूरा गर्न नसक्दा नेपाली ब्याटिङ अर्डर आलोचित बन्दै आएको थियो।

यो खेलमा पनि पहिलो विकेट त नेपालले १० रन मै गुमाएको थियो। लगातार खराब फर्ममा रहेका ओपनर आशिफ शेख व्यक्तिगत दुई रनमा आउट भए। तर अर्का ओपनर कुशल भुर्तेल र आरिफ शेखले आकर्षक ब्याटिङ गर्दै दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे। यी दुवैले अर्धसतकिय पारी खेले।

कुशलले ६४ बलमा ५० र आरिफले १०२ बलमा अविजित ५९ रन जोडेका थिए। त्यस्तै अर्का ब्याटर रोहित पौडेलले पनि राम्रो खेल खेल्दै ४८ बलमा अविजित ४४ रनको योगदान दिए।

दिपेन्द्र सिंह एरी लगातार दोस्रो बलमा डकआउट हुँदा २२ औ ओभरमा ९७ रन जोड्दा नेपालको तीन विकेट गएको थियो। तर जितका लागि आरिफ र रोहितले अविजित ७७ रनको साझेदारी गर्दै नेपाललाई ७८ बल खेल्नु अगाडी नै आकर्षक जित दिलाएका थिए।

यो सिरिजमा खेलेका चार खेलमा यो नै एक मात्र विश्वस्त जित थियो जसमा नेपालको ब्याटिङ चल्यो। यसअघिको पीएनजीसँगको पहिलो खेलमा पनि नेपाललाई जित दिलाएका आरिफ र रोहितले १०२ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए।

आईसीसी क्रिकेट विश्वकप लिग-२ समीकरण

यो आईसीसी क्रिकेट विश्वकप लिग-२, सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताकोे प्रारम्भिक छनोट लिग हो। सात राष्ट्र सहभागी यो लिग -२ मा प्रत्येक टिमले ९ त्रिकोणात्मक सिरिज खेल्दैछन्।

प्रत्येक सिरिजमा प्रत्येक टिमले चार-चार खेल खेल्नेछ। सिरिजको अन्त्यसम्म सबै टिमले ३६ खेल खेलीसकेपछि लिगको शीर्ष तीनमा रहने टिमले सीधै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्।

यस बाहेक अंकतालिकाको तल रहेका चार टिमले भने प्लेअफमार्फत विश्वकप छनोट खेल्न पाउने सम्भावना रहन्छ। लिग-२ अन्तर्गतको नेपालको यो तेस्रो सिरिज हो। यो सिरिजको अन्त्यसँगै नेपाल १२ खेलमा ६ जितपछि १२ अंक जोड्दै लिगको छैठौं स्थानमा कायमै छ। लिगको पहिलो स्थानमा रहेको ओमानको २८ खेलबाट ३६ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved