काठमाडौं। पारस खड्का र सावित्रा भण्डारी एनएसजेएफ स्पोर्टस अवार्डअन्तर्गत दशककै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित स्पोर्टस् अवार्ड २०७७ कार्यक्रममा विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरेको छ।
उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का पुरुष तर्फको दशककै उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै महिलातर्फ नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्राले यो उपाधि जितिन्।
नेपाली क्रिकेटले हालसम्म पाएको सबै सफलतामा पारसको योगदान अतुलनीय छ। उनकै कप्तानीमा नेपालले सन् २०१४ मा एक मात्र टी–ट्वान्टी विश्पकप खेलेको थियो। पारस नेपाली नेपाली क्रिकेट कै सवार्धिक सफल र नेपाली खेलकुदका सवार्धिक चर्चित खेलाडी हुन्।
त्यस्तै सावित्रा नेपाली महिला टिमकी सवार्धिक गोलकर्ता हुन्। नेपाली फुटबल टिमले पछिल्लो समयमा पाएको सफलतामा उनको प्रमुख योगदान छ।
नेपाललाई एकदिवसीय मान्यता दिलाएका क्रिकेटका घरेलु प्रशिक्षक जगत टमाटा दशकको उत्कृष्ट प्रशिक्षक घोषित भए। भोटिङको आधारमा प्रदान गरिने पिपुल्स च्वाइस अवार्ड भने टेवुल टेनिसकी एलिना महर्जनले जितिन।
त्यस्तै २०७७ मा नेपालमा नै भएको ट्राइ नेसन्स सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले टिम अफ दी इएरको उपाधि जित्यो। वर्ष २०७७ मा व्यक्तिगततर्फ नेपालको एक मात्र अन्तर्राष्ट्रिय पदकको रूपमा ढाका म्याराथुनमा स्वर्ण जितेकी पुष्पा भण्डारीले पर्फमर अफ दी इएरको उपाधि हात पारिन।
फरक क्षमता भएकी अलराउण्डर खेलाडी सरिता थुलुङले भने पाराएथ्लेट सम्मान प्राप्त गरिन्। स्पोर्टस अवार्डको यो १८ औं संस्करण हो।
Facebook Comment
Comment