गौर। रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले प्रदर्शन गरेको छ।
गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सीडीओको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेको भन्दै एमालेले जिल्लाको मध्यभाग गरुडामा मंगलबार ठूलो संख्यामा प्रदर्शन गरेको हो। सीडीओ र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए।
एमाले पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी इलाका प्रहरी कार्यालय गरुडाअगाडि नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो। सो क्रममा प्रदर्शनकारीहरूले ‘निर्दोषलाई फसाउन पाइँदैन, पक्षपाती सरकार र प्रशासन चाहिँदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबादलगायत नारा लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए। आज शान्तिपूर्ण प्रर्दशन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको इसारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालीन लागि बन्द हडताल गर्ने बताए। प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको सट्टा जनतालाई झनै भयवित बनाएको बताउँदै अध्यक्ष साहले पाँचदलीय गठबन्धनको सरकारको योजनामा प्रहरी प्रशासन चल्नु शर्मनाक परिवेश भएको बताए।
एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा१७च ६१६३ नम्बरको स्कर्पियो पिकअपको ड्राइभरले मान्छे पुर्याएर महोत्तरीबाट रौतहट फर्किँदै गर्दा गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए।
घटनास्थलमा समातिएका चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको आरोप लागेको छ। सूचना प्रविधिको युगमा सीसीटीभी फुटेज र भिडियो क्लिपहरू प्रमाणका रूपमा हुँदासमेत सरकारी षडयन्त्र भएको एमालेको आरोप छ।
दोषीलाई छाड्ने र निर्दोषमाथि मुद्दा लगाइएको भन्दै दोषीउपर छानबिन गर्न र निर्दोषलाई फसाउने कार्य गरेको स्थानीय तथा आफन्तको आरोप छ। सीडीओ र एसपीलाई बर्खास्त गरी रौतहटबाट हटाउनुको विकल्प नरहेको केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उपेन्द्र साहले बताए।
दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनको साटो स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उनको आरोप छ।
प्रदर्शनमा केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर यादव, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला उपाध्यक्ष दीपक यादव, सचिव बालविक्रम कार्की, उपसचिव पलट चौधरी, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादवलगायत सहभागी थिए।
Facebook Comment
Comment