राप्रपाले चैत २५ गते खुलामञ्चमा आमसभा गर्ने

देशभर ठूला, मझौला र साना सभाहरू गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ।

नेपालभ्युज

राप्रपाले चैत २५ गते खुलामञ्चमा आमसभा गर्ने
फाइल तस्वीर

काठमाडौं। देशभर ठूला, मझौला र साना सभाहरू गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरू सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन्।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू समितिमा रहेका छन्।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। उपाध्यक्षहरू ध्रुव बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ।

परम्परागत र सम्भ्रान्त नेतृत्वले लामो समय निरन्तरता पाएको राप्रपामा लिङ्देनको उदय भएपछि राप्रपा तिर जनताको आकर्षण बढिरहेको देखिन्छ। लिङ्देन जहाँ पुग्छन् त्यहाँ राप्रपाका नेता कार्यकर्ता मात्रै होइन आम जनताको सहभागिता उल्लेखनीय रूपमा भइरहेको छ। पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट शुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्।

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन्। राप्रपा र लिङ्देनको क्रेज बढेसँगै नेपाली राजनीतिको आगामी समीकरण र शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने कतिपयको विश्लेषण रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved