ईलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई स्थानीय चुनावमा मुखभरिको जवाफ दिने बताएका छन्। इलाममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेका कार्यकर्ताले जुत्ता-चप्पल खियाएर र पसिना बगाएर जिताएर पठाएपछि स्वार्थका पछाडि कुदेको भन्दै ३० वैशाखमा हुने स्थानीय चुनावमा समाजवादीको बाकस खालि गर्ने दाबी गरे।
‘‘एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाएर पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन?’’ उनले भने, ‘‘एमालेले लगाइदिएको जुँगामा ताउँ लगाउने अनि एमालेको बाकस खाली गर्छु भन्ने?” चुनावमा नेकपा एसलाई जवाफ दिने उनले बताए। उनले भने, ‘‘कमसे कम नेकपा एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि।
भत्ता खाइराख्ने? एमालेले लगाइदिएको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन?”
उनले निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र हरियो बनाएको भन्दै आपत्ति जनाए। उनले भने, ‘‘रूखसँग रंग मिलाइदिएर चुनाव चिह्न दिने? अहिले आयोगले चुनाव चिह्नमा रूखको रंग सबैलाई दिने रे, रूख पनि हरियो। सूर्य पनि हरियो, कहीँ हुन्छ?”
Facebook Comment
Comment