काठमाडौं। हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम गरेको छ। राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराइएको थियो।
इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वका रुपमा स्वीकार गर्नुपर्ने धारणा अभियन्ताहरूले राखे।
३ भदौमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो। प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाद्वारा राखेका थिए भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराएका थिए।
कार्यक्रम संयोजन वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गरेका थिए। स्वागत मन्तव्य दिँदै तिम्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताए। धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिँदै उनले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए।

साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिनादेखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिकामार्फत उद्देश्य र स्वाभिमान जागरणबारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको थियाे।
आफ्नो स्वास्थ्य जटिलताका कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाइएको थियो। सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देशमार्फत हिन्दू राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमानसँग जोडिएको विचार व्यक्त गरेका थिए।
यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्मविहीन राष्ट्र हुन सक्दैन बताउँदै प्राचीनकालदेखि नै नेपाल एक वैदिक सनातन हिन्दू राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुन लाग्यो भने पुरानै अवस्थामा ल्याउन सबै हिन्दूहरूले आ-आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिए।
नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेल ले नेपाल हिन्दु राष्ट्र को रुपमा रहँदा संसारभर का हिन्दूहरूको तीर्थस्थल रहने बताए। कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले नेपाल हिन्दू राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउँदै आफ्नो अस्तित्व जोगाउनका लागि पनि यस अभियानमा जोडिनुपर्ने बताए।
राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्याले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षतालाई जबर्जस्ती अँगालेको आरोप लगाए। समापन मन्तव्य दिँदै कार्यक्रम संयाेजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्लासम्म पुर्याइएकाे चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दू राष्ट्र नेपाल मा शासन पद्धति जुनसुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे।
अभियानका सदस्य प्रह्लाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रममा सामूहिक साहित्य विमोचन र ऋतु लामा द्वारा एकल गायन प्रस्तुत गरिएको थियो।
Facebook Comment
Comment