कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले ११ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ। स्थानिय तह निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा कांग्रेसले गत २९ फागुनदेखि शुरु पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित देशव्यापी अभियानबारे छलफल गर्ने र संसदीय समिति गठन गर्ने जनाएको छ।

बैठक मुख्यत: तीन एजेण्डामा केन्द्रित हुनेछ। पहिलो एजेण्डामा पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित अभियानबारे प्रारम्भिक छलफल, दोस्रो संसदीय समिति गठन र तेस्रोमा वर्तमान राजनीतिक अवस्थाबारे विविध छलफल गर्ने जनाइएको छ।

सरकारले आउँदो ३० वैशाखमा स्थानिय तह निर्वाचन घोषणा गरेको छ । त्यसअनुसार निर्वाचन आयोगले तयारी पनि अगाडि बढाएको छ । सत्तामा कांग्रेससँगै रहेको नेकपा माओवादी र नेकपा एसले सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल गर्नुपर्ने बताइरहेका छन्।

तर कांग्रेसले भने अहिलेसम्म चुनावी तालमेलबारे निर्णय गरेको छैन। कतिपय शीर्ष नेताहरूले चैतको दोस्रो सातासम्म केन्द्रीय समितिमार्फत यस सम्बन्धमा निर्णय लिने जनाएको थियो। तर पछिल्लो समय कांग्रेसका केही नेताहरूले एक्लै चुनावमा जानुपर्ने बताइरहेको बेला माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले चुनावी तालमेलबारे कांग्रेस सकारात्मक नरहेको टिप्पणी गरिरहेका छन्।

बिहीबार मात्रै प्रचण्ड-नेपालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved