सुर्खेत । पदबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्टले प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गरेका छन्। सांसद विष्टले शुक्रबार प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गराएका हुन्।
विष्टले केही दिनअघि आफ्नो राजीनामा कर्णाली प्रदेशसभामा इमेलमार्फत दर्ता गरेका थिए।
नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेश सभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा स्वीकृत भएको मानिने व्यवस्था छ।
बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले विष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो। एमसीसी पास गरिएको, गैरसांसदलाई मन्त्री बनाइएको र पार्टीमा राजनीतिक विचलन आएको भन्दै उनले सांसद पद र नेकपा माओवादीबाट राजीनामा दिएका थिए।
विष्टले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
Facebook Comment
Comment