स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेगरी प्रक्रिया अघि बढेको बताएका छन्। शुक्रबार खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराए।
रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिवद्धता जनाएका छन्। उनले भने, ‘‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ।’’
विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनको भनाइ थियो। गण्डकी प्रदेशसभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनले बताए।
कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले बृहत् भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ। त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ। प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए।
Facebook Comment
Comment