युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन्।
उहाँले त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनले विहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्बोधन हुनुपर्ने मेरा प्राथमिकताका विषय छन्।”
उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका छन्।
रूसले युक्रेनमा आक्रमण शुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता शुरु भएको थियो। पटक पटक भएको वार्ता परिणाममुखी हुन भने सकेको छैन। वार्ताको सिलसिला भने जारी नै रहेको छ।
पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो। सो वार्ता भिडिओमार्फत भएको थियो। त्यसको दुई दिनपछि युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग युक्रेनी राष्ट्रपतिले नै सीधै चाँडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए।
गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए। दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ६ शर्त अगाडि सारेका हुन्।
रूस र युक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ। बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी ६ देशको अनुरोधपछि बैठक बोलाइएको हो।
Facebook Comment
Comment