मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशिको राजर्षि जनक कप फुटबल प्रतियोगिताको छैटौं संस्करणका खेलहरू आज (बुधबार) देखि हुने भएको छ।
सर्लाहीको बागमतीमा हुने खेल बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा हुने छ। प्रतियोगिता १३ चैतसम्म चल्ने छ।
बागमती नगरपालिका-११ कर्मैयास्थित स्व सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुनेछ। आज मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ।
बुधबार (आज) उद्घाटन खेलमा हिमालयन शेर्पा क्बल काठमाडौं र ध्रुवतारा स्पोर्टिङ क्लब झापाले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेल दिउँसो साँढे ३ बजे शुरु हुने जनाइएको छ।
मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाउने जानकारी गराएपछि आयोजकले दमकलाई प्रतियोगितामा समावेश गरेको हो।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लबसमेत गरी १२ वटा टिमले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), नव जनजागृति युवा क्लब सिमरा, सुदूरपश्चिम-११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमतीले भाग लिएका छन्।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन्।
Facebook Comment
Comment