हेटौंडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले सोचे अनुरूप बजेट खर्च गर्न नसकेको स्विकार गरेका छन्।
मंगलबार प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले चाहेर पनि सोचेअनुरूप खर्च गर्न नसकेको बताएका छन्।
चालु आर्थिक वर्षको ६ महीनामा १५ दशमलव १५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको सरकारले कोरोना तथा अस्थिर सरकारका कारण बजेट खर्च गर्न समस्या भएको प्रतिवेदनमा उल्लेख गरेको छ।
“कोरोनाको तेश्रो लहर आएपछि सबैजसो कामहरू प्रभावित भयो। हामीले गर्ने विकास खर्चमा पनि कमी आयो,” उनले भने, “अघिल्लो सरकारले ल्याएका योजनाहरू कार्यान्वयनमा पनि जटिलता देखिएको छ। यसले पनि खर्च प्रणालीमा सुधार गर्न नसकिएको हो।”
चालु आर्थिक वर्षको लागि विनियोजन गरिएको ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँ बजेटमध्ये ६ महीनाको अवधिमा ८ अर्ब ७४ करोड ६४ लाख रूपैयाँ मात्र खर्च गरेको छ। टुक्रयाएको मन्त्रालयहरूलाई बजेट निकासा तथा व्यवस्थापनमा नै ढिलाइ हुँदा अपेक्षाअनुरूप काम हुन नसेको मन्त्री जम्मकट्टेले बताए।
अब विस्तारै बजेट निकासा तथा कार्यालय व्यवस्थापन हुँदै गएकाले अब खर्चको गति बढ्ने उनले बताए। “पछि थपिएका मन्त्रालय व्यवस्थापनमा हामी केही समय अल्झनुपर्यो,” उनले भने, “कोरोनाको कारणले पनि काम गर्न केही कठिनाइ आयो। त्यसैले सोचेअनुरूप काम हुन सकेन। अब सबै कुरा मिल्दै गएको छ। बिस्तारै कामको गति पनि बढ्नेछ।”
गत आर्थिक वर्षमा भन्दा चालु वर्षमा प्रदेश सरकारले स्थानीय सरकारलाई दिने बजेट बढेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रदेश सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमार्फत २ अर्ब ८० करोड ३५ हजार रकम स्थानीय सरकारलाई दिएको छ।
यो रकम गत वर्षभन्दा १८ दशमलव २५ प्रतिशतले धेरै भएको मन्त्री जम्मकट्टेलले बताए। गत आर्थिक वर्षमा शुरु गर्न नसकेका योजनासमेत दायित्व सारेर चालु आर्थिक वर्षमा गर्ने भन्दै प्रदेश सरकारले स्थानीय तहसँग योजना माग गरेको छ।
यसैबीच मन्त्रालयले प्रदेश सरकारले गर्ने कामलाई थप जिम्मेवारीपूर्ण र सहजताका लागि विभिन्न किसिमका ऐनको मस्यौदा तयार पारेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ।
बागमती प्रदेशको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले गठबन्धन सरकारले चुनाव लक्षित बजेट बाँडेको आरोप लगाएकी छन्। प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले चुनावको मुखमा बजेट बाँड्ने काम भइरहेको बताइन्।
“आफ्ना कार्यकर्तालाई खुशी पार्न गठबन्धन सरकारले बजेट बाँडिरहेको छ,” उनले भनिन्,”हजारौं टुक्रे योजना बाँडिएका छन्। न ती योजनाले प्रभावकारी विकास हुन्छ, न बजेटको सही सदुपयोग नै हुन्छ।”
प्रदेश सरकारले ५/५ लाखको २३ सय योजना बाँडेको भन्दै उनले यसको औचित्य नै नभएको बताइन्।
Facebook Comment
Comment