रूसी टेलिभिजनमा समाचार बज्दाबज्दै युद्धविरोधी प्लेकार्ड देखाइयाे

रूसी सरकारी स्वामित्वको एक टेलिभिजन च्यानलमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोधि प्लेकार्ड देखाएपछि विश्वभर त्यसको चर्चा भएको छ।

नेपालभ्युज

रूसी टेलिभिजनमा समाचार बज्दाबज्दै युद्धविरोधी प्लेकार्ड देखाइयाे

काठमाडौं। रूसी सरकारी स्वामित्वको एक टेलिभिजन च्यानलमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोधी प्लेकार्ड देखाएपछि विश्वभर त्यसको चर्चा भएको छ। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन। र युद्ध नभनेर विशेष सैन्य अभियान भन्नुपर्ने कानुन छ। त्यसको उल्लङ्घन गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुन छ।

त्यसको प्रतिवाद गर्दै एक समाचार सम्पादकले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला एक स्टुडियोभित्र छिरेर युद्धविरोधी प्लेकार्ड देखाएकी छन्। च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौँ रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा ’युद्ध रोक, युद्ध चाहिँदैन, यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यीनीहरूले झुट बोलिरहेका छन्, रूसी जनता युद्धको विपक्षमा छन्’ लेखिएको प्लेकार्ड देखाएकी थिइन्।

केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्ड सामग्री बजाइएको थियो। सामाजिक सञ्जालमा उनको भिडिओ भाइरल छ।

समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए।

उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्।

संसारका धेरै मुलुकले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेका छन्। अमेरिकासहित पश्चिमा मुलुकहरूले रूसमाथि इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन्। रूसी आक्रमणको विरोध बाहिर मात्र होइन रूसभित्रै पनि हुन थालेको छ। रुसी आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौँ मानिसहरूले ज्यान गुमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved