युद्धग्रस्त यमनमा खाद्यान्न अभाव थप चर्किँदै

नेपालभ्युज

युद्धग्रस्त यमनमा खाद्यान्न अभाव थप चर्किँदै

एजेन्सी।  युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढ्नसक्‍ने चेतावनी संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार दिएका हुन्।

राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी हुने प्रक्षेपण गरेका हुन्।

खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्च स्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो।

रूसको युक्रेनमा आक्रमणले विश्वव्यापी खाद्य आपूर्तिलाई खतरामा पार्छ भन्ने डर बढ्दै गएको समय द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएको हो।

डब्ल्युएफपी प्रमुख डेभिड बिस्लीले भने, “यी भयानक तथ्याङ्कले हामी यमनमा विपत्तिको गन्तीमा छौं भन्ने पुष्टि गर्छ र यसबाट बच्न हामी करिब अन्तिम समयको पर्खाइमा छौं।” दाताहरूले यमनलाई खाद्य सङ्कटको माहामारीबाट जोगाउने पहल ढिलो भएमा यहाँ ‘कहालीलाग्दो भोकमरी र अनिकाल’ को अवस्था आउने चेतावनी उनले दिए। उनले भने, “सङ्कट टार्न हामीले अहिल्यै कदम चाल्नुपर्छ।”

यमन लगभग पूरै खाद्य आयातमा निर्भर छ र लगभग एक तिहाइ गहुँ आपूर्ति युक्रेनबाट आउन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ।

रूसको आक्रमणपछि यूक्रेनमा जारी युद्धले ‘यमनको आयातमा गम्भीर झट्का निम्त्याउने सम्भावना छ र यसले खाद्यान्नको मूल्य अझ बढ्ने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved