महिलाहरूले सञ्चालन गर्ने उद्योगमा कर छुट गराउँछुः मन्त्री रेग्मी

नेपालभ्युज

महिलाहरूले सञ्चालन गर्ने उद्योगमा कर छुट गराउँछुः मन्त्री रेग्मी

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरूले सञ्चालन गर्ने सबै उद्योगहरूमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले महिलाहरूलाई उद्यमशील बनाउनका लागि पनि उनीहरूले संचालन गर्ने सबै उद्योगहरूमा आवश्यक कच्चा पदार्थ र मेसिनहरूमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताइन्।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक लबिङ गर्ने कामलाई आफूले शुरु गर्ने उनको कार्ययोजना थियो। त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन्।

स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्ने कुरा बल्ल आफूले थाहा पाएको उनले बताइन्। तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको पनि उलने स्पष्ट पारिन्। मन्त्री रेग्मीले भनिन्। “महिलाहरूले शुरु गरेका उद्योगहरूमा छुटको व्यवस्था गर्नुपर्छ। त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ। राजस्व लाग्दो रहेछ। त्यसकारणले म आउनेबित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाइसकेका छौं। त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिन जस्ता बस्तुहरूमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं। र, अरू कुराहरूमा पनि महिलाहरूलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरूले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ। त्यसमा चाँहि यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ। त्यो गर्ने भनेको बजेट भाषणमा हो। र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ। अर्थ मन्त्रालयसँग, अर्थमन्त्रीसँग, प्रधानमन्त्रीसँग समेत लबिङ गरेर कसरी छुट दिन सकिन्छ, कति छुट दिन सकिन्छ ? भन्ने कुरा महिलाहरूलाई उद्यमी बनाउनका लागि छुट दिन सकिन्छ ? त्यसका लागि लबिङ गर्नेृछु। र, त्यो आगामी बजेटमा पार्न सक्दो कोसिस गर्नेछु।”

मन्त्री रेग्मीले महिलाहरूलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गरिन्। बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरूलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved