सुर्खेत । सुर्खेतमा एक व्यापारीको शंकास्पद मृत्युपछि घटनाको छानविनका लागि समिति गठन भएको छ। नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका-३ का २५ वर्षीया मीन हमालको शुक्रबार शंकास्पद मृत्यु भएको थियो।
हमालको मृत्युका विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानविन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।
छानविन समितिले तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन पेश गर्ने, समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडी बढाउने, छानविनको कामलाई सहज बनाउनका लागि विरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको प्रजिअ रिजालले बताए।
नेपालगञ्जबाट शुक्रबार बेलुका मालबाहक ट्रकमा व्यापारी हमाल कालिकोट जाँदै थिए। सुर्खेत वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा उनले सामान बढी हालेको विषयलाई लिएर वादविवाद भएको थियो। त्यही क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ।
Facebook Comment
Comment