एजेन्सी। अहिलेसम्मको अवस्थामा यो रूस-युक्रेनको लडाइँ हो। तर, तेस्रो विश्वयुद्ध यति सन्निकट कहिल्यै थिएन।
रुसी सेनाले किभ र अन्य शहरमा आक्रमण गरिरहँदा पश्चिमा शक्तिहरूले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष युद्ध टार्नका लागि निकै सावधानीपूर्वक काम गरिरहेका छन्। विश्वकै ठूलो आणविक आर्सनलमाथि नियन्त्रण राख्ने पुटिनले यसको प्रयोगबारे कुनै दुविधा बाँकी रहन दिएका छैनन्।
युक्रेनका पश्चिमा सहयोगीहरुले हतियार र अन्य सामाग्रीहरू पठाइरहेका छन्। तर उनीहरुले ‘नो फ्लाई जोन’ लागू गर्ने योजनालाई अस्विकार गरिरहेका छन् । युरोपेली देशहरुले एयर डिफेन्स सिस्टम प्रदान गरिरहेका छन्। तर युक्रेनले फाइटर जेट पठाउन गरेको आग्रहलाई स्विकारेका छैनन्।
कुनै पनि देशले सेना पठाएको छैन।
यसका बाबजुद पश्चिमा देशका वरिष्ठ सरकारी अधिकारीहरू, कुटनीतिज्ञहरू र सैन्य विश्लेषकहरूले अमेरिका र ऊ नेतृत्वको नाटो गठबन्धन युद्धमा तानिनसक्ने खतरा महसुस गरेका छन्। संकेतहरू हेर्दा कुनै पनि क्षण यी राष्ट्रहरू युद्धमा होमिन सक्छन्।
‘‘एउटै गल्ती काफी हुन्छ। यदी पोल्यान्डमा उनीहरूले मिसाइल फ्याँके भने युद्ध निकै चाँडो शुरू हुनेछ। यस्तो अवस्थामा हामीले प्रतिक्रिया दिनुपर्छ। प्रतिक्रिया दिन्नौं भन्ने हुँदैन,’’ अमेरिकी सरकारको लगानी रहेको संस्थामा काम गर्ने वासिङटनका एक विश्लेषकले भने,‘‘र मानवताविरुद्धको अपराधविरुद्धको चिच्याहट यति बलियो छ कि हामी आफैंले संवेदनशील ठानेको कदम चाल्नुपर्ने बाध्यता हुन्छ।’’
‘‘नो फ्लाई जोन लागु हुनुको अर्थ रुसीहरूलाई मार्नु हो,’’ ती विश्लेषकले भने,‘‘रुसीहरुलाई मार्ने कार्यले हामीलाई तेस्रो विश्वयुद्धमा धकेल्नेछ।’’
जापोरिज्जिया आणविक उर्जा प्लान्टमा शुक्रबार बिहान भएको आक्रमण र आगलागी त्यस्तो आपतकालीन परिस्थितीको अर्को डरलाग्दो उदाहरण बनेको छ, यस्तो परिस्थितीले विश्वव्यापी विध्वंश रोक्नका लागि पुटिनको युद्धविरुद्ध फराकिलो गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना गर्नसक्छ।
तर अन्य धेरै परिस्थितीहरू निम्तिइरहेका छन्। रूसी विमानहरूले यसअघि नै गत बुधबार दर्जनौंपटक नियमविपरीत स्विडेनको आकाश हुँदै उडान गरेका थिए। इस्टोनियाको कार्गो जहाज ओडिशाको समूद्री किनारमा रहेको कोइला खानीमा ठोक्किएपछि ध्वस्त भएको थियो। यस्ता दुर्घटना सहजै बढ्नसक्छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन युद्धमा आफ्नो सेनालाई संलग्न गराउन नहुने पक्षमा छन्। यसै साता उनले देशवासीका लागि गरेको सम्बोधनमा युक्रेनलाई आवश्यकता वासिङटनले सक्ने सहयोग गर्ने बताए। तर यो युद्ध आफ्नो नभएर युक्रेनीहरूको रहेको स्मरण गराउन पनि बिर्सिएनन्।

‘‘हामी आफ्नो देशको रक्षा गर्न र आफ्नो पीडालाई सहज बनाउनका लागि लडिरहेका युक्रेनी जनतालाई निरन्तर सहयोग गर्नेछौं। तर मलाई स्पष्ट हुन दिनुस् : हाम्रो सेना युद्धमा संलग्न छैन र युक्रेनमा रूसी सेनासँगको युद्धमा संलग्न हुनेछैन। हाम्रो सेना युरोपमा (युक्रेनमा) युद्धका लागि जानेछैन। तर, पुटिन पश्चिमतर्फ यसरी नै बढिरहे हाम्रा नाटो सहयोगीको रक्षा गर्न जानेछ।’’
अमेरिकाले आफ्ना सहयोगीलाई दिने गोप्य सूचनाबारे जानकार एक युरोपेली अधिकारीका अनुसार वासिङटनका विश्लेषकहरू डरलाग्दो निष्कर्षमा पुगिसकेका छन्। ‘‘निष्कर्ष हो : युक्रेनमा थर्मो न्युक्लियर बम प्रयोग गर्न रूस तयार छ,’ ती अधिकारीले भने।
ती अधिकारीले युक्रेनमा चलिरहेको युद्ध दोस्रो विश्वयुद्ध र १९९० को बाल्कन युद्धयताकै युरोपको खतरनाक युद्ध भएको बताए। ‘‘ती युद्ध जसरी नै वास्तविक युरोपेली युद्ध शुरू हुने संभावनाले यो युद्ध खराब छ। वा चाडैं विश्वयुद्ध शुरू हुने संभावनाले, यो युद्ध हरदिन गहिरो र गहिरो हुँदै गइरहेको छ।’’
शुक्रबार नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गले युद्धबाट बच्ने र ‘नो फ्लाई जोन’ लागू नगर्ने आफ्नो अडानलाई फेरि दोहोर्याएका थिए।
‘‘नो फ्लाई जोन लागू गर्नुको एउटै उद्देश्य नाटो प्लेनहरूलाई युक्रेनको एयरस्पेसमा पठाउनु हो। फाइटर प्लेनहरूलाई र रूसी विमानहरूलाई खसाल्नु हो,’’ स्टोल्टेनवर्गले ब्रसेल्समा आयोजित नाटोको परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि भने,‘‘यदी हामीले त्यस्तो गर्यौं भने युरोपमा पूर्ण युद्ध शुरू हुने अवस्थालाई रोक्ने परिस्थिती अन्त्य हुनेछ, धेरै देशहरू युद्धमा होमिनेछन् र मानिसले अझै दुख पाउनेछन्।’’
युक्रेनी शरणार्थीहरूको बाढी लागेको माल्दोभाको राजधानी चिसीनाऊ भ्रमण गरेपछि युरोपेली युनियन (ईयू)का विदेश नीति प्रमुख जोसेप बोर्रेलले युक्रेनमा चलिरहेको द्वन्द्वमा पूरै विश्वको सरोकार रहेको बताए। ‘‘आज समस्या डोन्वसमा मात्रै छैन। युक्रेनमा मात्रै छैन। अहिले युरोपको स्थिरता र पूरै अन्तर्राष्ट्रिय नियम दाऊमा छ।’’
तर, ईयूमा आबद्ध २१ देशसहितको नाटो गठबन्धनले ‘‘नो फ्लाई जोन’’ लागू गर्ने संभावनालाई उनले अस्विकार गरे।
छद्म युद्ध
रूसबारेका जानकार र कुटनीतिज्ञहरू युक्रेन युद्धको चित्रण गर्ने प्रयासमा मुख्य कुरा नै छुटिरहेको बताउँछन्। त्यो बिन्दु हो : पुटिनले युक्रेनलाई यसकारण आक्रमण गरे किनकी यो ईयू र नाटोतर्फको बाटो हो।

युक्रेनमा लड्नु भनेको पश्चिमी देशहरूमा छद्म युद्ध गर्नु हो। अमेरिका र नाटोप्रतिको पुटिनको गुनासो सम्बोधन भएमात्रै युद्ध अन्त्य हुने केहीको विश्वास छ। त्यतिबेलासम्म उनले युद्ध गरिरहने छन्, युक्रेन कब्जा वा ध्वस्त गर्ने प्रयास गरिरहनेछन् र त्यसपछि बल्ल युक्रेनका कम महत्व राख्ने अधिकारीहरूसँग शान्ति सम्झौता गर्नेछन्।
अर्को शब्दमा भन्नुपर्दा अहिले अप्रत्यक्ष रूपमा युद्धमा सहभागी भएका पश्चिमी देशहरू राजनीतिक र सायद सैन्य मोर्चामा थप प्रत्यक्ष रूपमा संलग्न हुनेछन्।
त्यो ठूलो भूमिकाको बिस्तृत प्रकृति बहसको विषय हुनसक्छ, तर धेरैलाई त्यो कहालीलाग्दो समय एउटा वा अर्को बाटोबाट आउँछ भन्ने लाग्छ। र, केहीको तर्क जति चाँडो त्यो परिस्थिती आउँछ, उति नै छिटो युद्ध समाप्त हुन्छ भन्ने छ। यस्तो परिस्थिती निम्तँदा पुटिनले आणविक विध्वंशको साटो आत्मरक्षाको बाटो रोज्ने उनीहरूको अनुमान छ।
तर, सबै संकेतहरूले आगामी दिनमा युक्रेनको अवस्था थप खराब हुने देखाउँछन्, बिहीबार फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यही चुनौतीबारे ध्यानाकर्षण गराएका थिए।
चाहे लडाँइको मोर्चामा जस्तोसुकै परिणाम आओस्, युक्रेनी जनताको आक्रोश देखेर पुटिनले आफू राजनीतिक रूपमा हारेको महसुस गरिरहेका छन्। यस्तो अवस्थामा युक्रेनलाई विध्वंश गर्ने बाटो उनले खोज्ने खतरा छ, रूसले जसरी चेचेनको राजधानी ग्रोज्नीलाई ध्वस्त पारेको थियो, त्यही काम उनले युक्रेनका शहर र बस्तीमा गर्नसक्छन्।
र, धेरै प्रतिबन्धहरूबाट जसरी रूसी अर्थतन्त्र प्रताडित छ, त्यो कायमै रहनेछ। तर, यो अवस्था युक्रेन कब्जा गर्ने र त्यहाँको सरकार अपदस्थ गर्ने उद्देश्यबाट पुटिनलाई पछाडि हटाउन बाध्य बनाउने एउटा सानो कारणसम्म हुनसक्छ, मुख्य कारण हुनै सक्दैन।
किनकी, कडा आर्थिक परिस्थिती निम्तनेछ भन्ने जान्दा जान्दै पनि पुटिनले युद्ध रोजेका हुन्। यसअघि नाकाबन्दी लाग्नसक्ने हिसाब निकालेरै उनले २०१४ मा क्रिमिया कब्जा गरेका थिए।

पश्चिमा शक्तिले आफ्नो प्रत्यक्ष संलग्नतामा ढिलाई गर्दा र युद्धमा छैनौं भनिरहँदाको मुल्य युक्रेनीहरूले ठूलो चुकाउनुपर्ने एक वरिष्ठ ईयू अधिकारीले बताए।
‘‘उनीहरूले (पश्चिमा) अझै लामो समयसम्म यस्तो नाटक गरिरहनेछन् र धेरै युक्रेनीहरूले ज्यान गुमाउनुपर्नेछ,’’ एक वरिष्ठ अधिकारीले भने,‘‘पुटिनको प्रारम्भिक लक्ष्य यही नै थियो भनेर पश्चिमाले बुझ्नुपर्ने थियो।’’
उनले थपे, ‘‘यदी उनीहरूले तदाकथित नो फ्लाई जोन लागू गरेपनि युद्धको डाइनामिक्स परिवर्तन हुनेवाला छैन। यसलाई अझै पनि अरू कसैको युद्धका रुपमा हेरिएको छ।’’
अर्का एक वरिष्ठ ईयू अधिकारी युक्रेनलाई पठाइएका हतियार र अन्य सैनिक सामाग्री संयुक्त राष्ट्रसंघको धारा ५१ अनुसार छ भन्नेमा ईयू सदस्य राष्ट्रहरूले विश्वस्त रहेको बताउँछन्। देशको आत्मरक्षाको अधिकारसँग यो जोडिएको छ। यसलाई रूस वा अरू कसैले रूससँग ईयूले प्रत्यक्ष युद्ध गर्न खोजेको भनेर बुझ्न नहुने उनको तर्क छ।
‘‘ईयू रूससँगको युद्धमा छैन। हामी राष्ट्रसंघको चार्टरअनुसार छौं। हामीले युक्रेनलाई यसकारण सहयोग गर्नुपर्यो किनकी हमला भएको बेलामा आत्मरक्षा गर्ने अधिकार ऊसँग छ।’’
वासिङटन बस्ने स्वतन्त्र सुरक्षा विश्लेषक मोल्ली म्याक्यु अहिलेको विवादमा आफूलाई केन्द्रमा राख्न नसक्दा पश्चिमा शक्तिहरूले एउटा ठूलो अवसर गुमाएको बताउँछिन्।
उनका अनुसार तीनवटा स्लाभिक राष्ट्र युक्रेन, रूस र बेलारूसलाई रूसी तानाशाह पुटिनविरुद्ध प्रजातन्त्रका पक्षमा उभ्याउने अवसर सदुपयोग गर्न पश्चिमाहरू असफल भइरहेका थिए।
‘‘हामीले यो बुझेका छैनौं जस्तो देखिन्छ कि हामी पहिल्यैदेखि यो युद्धका सहभागी हौं। आफैंले चाहेर होइन, नाटोले लिएको कुनै निर्णयका कारण होइन, युक्रेनको कुनै सहयोगी देशले लिएको निर्णयले पनि होइन, भ्लादिमिर पुटिनले हामीसँग युद्ध लडिरहेकाले हो,’’ म्याक्युले भनिन्,‘‘र यदी हामी युद्धमा देखियौं भने यो चाडैं सकिनेछ र कम मानिस मर्नेछन्। र, अहिले हामीले गर्नुपर्ने निर्णय यही हो।’’
उनका अनुसार पश्चिमी देशहरू कानुनको धागोले बाँधिएर निरन्तर हिंड्ने प्रयासमा रहँदा पनि पुटिनले द्वन्द्वलाई बढावा दिने निर्णय गर्ने संभावना थियो। ‘‘मलाई लाग्छ अहिले अति सावधानीसाथ कानूनी रूपमा सुक्ष्म विश्लेषण हुँदैछ । के फाइटर जेट अति हो ? के नाटोले युद्धमा भाग लिइरहेको छ ? के ड्रोनको प्रयोग अति हो ? के नोटोले युक्रेनलाई युद्धका लागि हतियार दिइरहेको छ ?,’’ उनले भनिन्,‘‘तपाई के बुझ्नुहुन्छ ? तपाईले राष्ट्रिय सुरक्षा काउन्सिलमा पठाएको ४० पृष्ठ लामो सुक्ष्म विश्लेषणको वास्ता पुटिनले गर्दैनन्।’’
पुटिनको ”गद्दाफी माइन्डसेट”
पुटिनलाई अपदस्थ गर्नुपर्ने आवश्यकता रहेको चर्चा पनि चल्ने गर्छ। यस्तो चर्चाले पनि युक्रेनमा चलिरहेको लडाँइलाई विश्वयुद्धमा बदल्नसक्ने विज्ञहरू बताउँछन्।
किनकी, सत्ताको सम्वद्र्धनमात्रै नभएर आफ्नै संरक्षणमा समेत लागिरहेको पुटिनको निष्कर्ष छ। धेरै पश्चिमा अधिकारीहरू कुनै रूसी धनाढ्य वा पुटिनकै नजिकका व्यक्तिले उनको हत्या गर्नसक्ने समेत बताउँछन्।

बिहीबार अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पुटिन मारिनुपर्ने बताइन्। ‘‘के रूसमा कोही ब्रुटुस छ ? के रूसी सेनामा थप सफल कोलोनेल स्टफेनवर्ग छ ?’’ उनले भनिन्। ग्राहम दिएको पहिलो उदाहरण रोमन राजनीतिज्ञको हो, जो जुलियस सिजरका हत्यारामध्ये एक थिए। र, अर्का व्यक्ति जर्मन आर्मीका अफिसर हुन्, जसले हिट्लरको हत्या गर्ने असफल प्रयास गरेका थिए।
लिबियाका पूर्वनेता मुआम्मर गद्दाफीको मृत्युपछि पुटिनले आफ्नो गहिरो असन्तोष जताएका थिए। गद्दाफीलाई बन्दी बनाइयो, यातना दिइयो, बेइज्जती गरियो र उनले दयाको भिख माग्दा माग्दै पनि पिटेर मारियो। अनि, ती दृश्यहरू मोबाइल फोनमा खिचियो।
वासिङटनमा रहोक एक विश्लेषकका अनुसार गद्दाफीको नियति टार्नका लागि पुटिनले जे पनि गर्नसक्छ। र, पुटिनलाई युद्ध अपराधी ठहर गर्नुपर्छ भन्ने आवाज उठ्दा उनी थप आक्रामक बन्नसक्छन्।
‘‘नाटो लडाँइमा होमिनसक्ने परिस्थितीभन्दा पनि पुटिनलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा उभ्याइने प्रयासबारे चर्चा गरिने डरलाग्दो छ,’’ एक विश्लेषकले भने,‘‘गद्दाफी माइन्डसेट भएका तानाशाह, जसको औंलामा आणविक हतियारको बटन छ। उनलाई उभ्याउने कुरा गर्नुअघि सावधान हुन जरूरी छ।’’
सारमा, ती विश्लेषकका अनुसार बाइडेनसहितका पश्चिमा अधिकारीहरूले विश्वयुद्धको गम्भीर खतरालाई महसुस गरेका थिएनन्। ‘‘केही आधारभूत परिवर्तन छाड्ने हो भने उनीहरूले त्यही गरिरहेका छन्, जो गरिरहेका थिए,’’ ती विश्लेषकले भने।
– पोलिटिको डटकममा प्रकाशित लेखको अनुवाद अन्वेषण अधिकारीले गरेका हुन्।
Facebook Comment
Comment