विवाद बाबजुद एनएसएल अक्सन शुरु, एन्फा लिग संयोजकको राजीनामा

नेपालभ्युज

विवाद बाबजुद एनएसएल अक्सन शुरु, एन्फा लिग संयोजकको राजीनामा

काठमाडौं। विवादमा रुमलिए पनि नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेलाडी अक्सन शुरु भएको छ। यही विवादका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग संयोजक विज्ञान राज शर्माले भने पदबाट राजीनामा दिएका छन्।

नेपाल सुपर लिग (एनएसएल) र शहीद स्मारक ‘ए’ डिभिजन लिगका क्लबबीच खेलाडी अनुबन्धनको विषयमा विवाद उत्पन्न भएपछि शर्माको राजीनामा आएको हो।

नेपालमा अधिकांश खेलाडी ‘ए’ डिभिजन लिगका क्लबमासँग अनुबन्धित छन्। यता आगामी चैतको अन्तिम सातादेखि आयोजना हुने फ्रेन्चाइज एनएसएलको दोस्रो संस्करणको लागि आयोजक कम्पनीले आज शुक्रबारदेखि खेलाडीको अक्सन शुरु गरिसकेको छ।

शुक्रबारको अक्सनअघि सबै फ्रेन्चाइज क्लबहरूले टिमको मार्की खेलाडी पनि घोषणा गरिसकेका छन्।

यता ‘ए’ डिभिजन लिगका क्लबहरू मोफसलका विभिन्न प्रतियोगिता बाँकी रहँदा आफ्नो खेलाडीहरूलाई एनएसएलका लागि फ्रेन्चाइज क्लबहरूमा आबद्ध हुन दिन चाहँदैनन्।

त्यसैले ‘ए’ डिभिजन क्लबहरूले एन्फालाई यो अक्सन रोक्न आग्रह गरेका थिए। एन्फाले आधिकारिक रूपमा नै पत्र काटेर एनएसएलको आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीले अक्सन रोक्न पनि पत्राचार गरेको थियो।

तर अखिल नेपाल फुटबल संघकै प्राविधिक सहयोग आयोजना हुन लागेको नेपाल सुपर लिगको आयोजकले अक्सन रोकेन।

विज्ञान राज शर्मा यही सुपर लिगको डिफेण्डिङ च्याम्पियन टिम काठमाडौं रेजर्सको टिम डाइरेक्टर पनि हुन्। त्यसैले एन्फा लिग कमिटी संयोजक र फ्रेन्चाइज क्लबको डाइरेक्टरको दोहारो भूमिकामा रहेर काम गर्न अप्ठारो भएकोले नैतिकताको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्।

गत वर्ष नेपालका विभिन्न शहरकेन्द्रित सात टिमले यो लिगमा सभागिता जनाएका थिए भने यो पटक लिगमा तीन टिम थप गरी टिम संख्या १० पुर्‍याइएको छ

यो विवादका विषयमा शर्माले बिहीबार नै ‘ए’ डिभिजन क्लबले खेलाडीहरूलाई रिलिज नगरे ती खेलाडीले एनएसए खेल्न नपाउने बताइसकेका छन्। साथै एनएसएल प्रतियोगिता शुरु हुने बेलासम्म खेलाडी रिलिजका सबै प्रक्रिया मिल्ने उनले जानकारी गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved