वरिष्ठ वामपन्थी नेता बर्मा सिकिस्त, कोही नेता गएका छैनन् भेट्न (भिडिओ)
नेपालभ्युज
काठमाडौं। वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्मा सिकिस्त बिरामी परेका छन्। उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ तर अहिलेसम्म राजनीतिक दलका कोही पनि नेता उनलाई भेट्न गएका छैनन्।
बर्माका सुपुत्र राजेश बर्माले दिएको जानकारीअनुसार, गएको सोमबारदेखि उनी बिरामी परेका हुन्। अस्पताल लगेको आज दशौँ दिन भएको उनले जानकारी दिए। “पहिला ओमको आईसीयूमा हुनुहुन्थ्यो। त्यहाँ त्यति राम्रो केयर भएन भन्ने लागेर यता (ह्याम्स) मा सारेको। यहाँ पनि त्यस्तै छ”, नेता बर्माका सुपुत्र राजेशले भने।
राजेशका अनुसार, अस्पतालले बर्माको पेटमा इन्फेक्सन भएको भनेको छ। “अक्सिजन लेभल कम छ, फोक्सोले कामै गरिरहेको छैन भनिरहनुभएको छ”, उनले भने, “अहिले पनि उहाँ होशमै हुनुहुन्छ, मान्छे चिन्नुहुन्छ तर भेन्टिलेटरमा राखौँ भन्दै हुनुहुन्छ डाक्टरहरू।”
कोभिड हो कि भनेर त्यसको परीक्षण गरे पनि निगेटिभ आएको पनि उनले जानकारी दिए। “सात दिन भयो एन्टिबायोटिक चलाएको, मेडिकल टीमले राम्रै उपचार गरिरहनुभएको छ तर सुधार आइरहेको छैन”, उनले भने, “फोक्सोले राम्रो काम गरेको छैन, अक्सिजन घटेको छ तर आईसीयूमा भए पनि खाना खाइरहनुभएको छ। मान्छे चिन्नुहुन्छ तर छाती इन्फेक्सनमा केही पनि सुधार भइरहेको छैन। अक्सिजन मास्क निकाल्नेबित्तिकै स्वाट्टै घट्छ।”
बर्मा राजनीतिज्ञ भए पनि उनलाई भेट्न कोही पनि नेताहरू अस्पताल गएका छैनन्। बर्मा ९३ वर्षका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील छन्। कम्युनिष्ट पार्टी स्थापनाका बेला उनी कोलकातामै रहे पनि उनी नेकपाका संस्थापक भने होइनन्। उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा हुन्। उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन्।
०४६ सालपछि उनले नेकपा (बर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष भएका थिए।
Respected communist leader.get well soon
Get well soon