काठमाडौं । क्यानेडाविरुद्ध शान्दार जीत निकाल्दै नेपालले टी २० विश्वकप क्रिकेट २०२२ छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।
यो जीतसँगै जारी प्रतियोगितामा अपराजित रहने नेपाल एक्लो टिम बन्यो । यसअघि नेपालले ओमान र फिलिपिन्सलाई हराएको थियो।
समूह बीको विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले अब भोलि समूह एको उपविजेता यूएईसँग प्रतिस्पर्धा गर्नछ। यो खेल जित्नसके नेपाल विश्वकपका लागि छनोट हुनेछ।
टस हारेर पहिले बलिङ गरेको नेपालले क्यानेडालाई १५ औं ओभरमा केवल ८० रनमै अलआउट गरेको थियो।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा केवल १२ रन खर्चिएर ३ विकेट लिए। त्यसैगरी अनिनाश बोहराले ३ ओभरमा ७ रन दिएर २ र कमल सिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।
४८ रन बनाउँदा ९ विकेट गुमाइसकेको क्यानेडाले अन्तिम विकेटका लागि भने ३२ रनको साझेदारी गरेर बल्लतल्ल ८० रन जोडेको थियो। क्यानेडाबाट नवौं नम्बरमा ब्याटिङ गर्न आएका डिलोन हेलिगरले अविजित २४ रन बनाए। ७ जना ब्याटस्म्यानले यस खेलमा दोहोरो अंक बनाउन सकेनन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालबाट कुशल भुर्तेलले सर्वाधिक अविजित ३४ र दीपेन्द्र ऐरीले अविजित २७ रनको योगदान दिए। यसअघि ओपनर आसिफ शेख १७ रनमा आउट भए। त्यस्तै, कुशल मल्ल डकआउट भए।
अर्को सेमिफाइनलमा नेपाल सम्मिलित समूह बीको उपविजेता रहेको ओमान र समूह एको विजेता आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल जित्ने टोली पनि विश्वकपमा छनोट हुनेछ।
Facebook Comment
Comment