पोखरामा भीषण असिनापानी, डोजरले पन्छाइयो

नेपालभ्युज

पोखरामा भीषण असिनापानी, डोजरले पन्छाइयो

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परेको छ।

असिना पानीले पोखराको सडक अवरुद्ध भएको छ। पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो। गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए। सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परेका छन्।

बिहानैदेखि मौसम अध्यारो भए पनि यति धेरै असिना पानी आउने आकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो। असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ।

अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए। त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो। यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले बताए। असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ। असिना पानीले अवरुद्ध मानिसहरू बाटोमै अलपत्र परेका थिए।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए। उनले बेमौसमी तरकारी यसले ठूलो क्षति पुर्‍याएको बताए। “पोखराको हेम्जा र मालेपाटनलगायत विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्‍याएको छ। यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसँग जानकारी नदिई यति नै क्षति भयो भन्न सकिन्न। तर, व्यापक क्षेति पुगेको छ”, उनको भनाइ छ।

आलु, रायोलगायत तरकारी बाली लगाएको जमिनमा केको खेती थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ। असिनाका कारण चारपांग्रे सवारी साधनसमेत चल्न नसक्ने अवस्था आएको देखिएको छ।

अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved