काठमाडौ। काठमाडौं उपत्यकामा एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ। फोहोर नउठ्दा विभिन्न सार्वजनिक स्थान तथा चोकहरूमा फोहोरका डंगुर देखिन थालेका छन्।
पासाङ्ल्यामु मार्ग अन्तर्गत बालाजु–तिनपिप्ले ६ किलोमिटर सडकखण्ड वरिपरिका स्थानीयले सडक अवरोध गरेका कारण फोहोर नउठेको काठमाडौं महानगरपालिकाले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागमार्फत शैलुङ निर्माण कम्पनीले समयमा काम नगरेपछि स्थानीय आन्दोलित बनेका हुन्। लामो समयदेखि ठेकेदार निर्माण कार्य लम्याइरहे पछि स्थानीयले तत्काल निर्माण सम्पन्न गर्न दबाब दिएका हुन्।
काठमाडौं महानगरपालिकाले भने शनिबार कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न सार्वजनिक सूचना नै जारी गरेको छ। महानगरको वातावरण विभागले जारी गरेको उक्त सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ।’
नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएको छ। महानगर पालिका वातावरण विभाग प्रमुख सरिता राइले महानगरले सक्दो पहल गरिरहेको बताएकी छिन्। उनले भनिन्, “बाटो निर्माणको काम भएकाले हाम्रो जिम्माको काम होइन। सडक विभागले छिटोभन्दा छिटो समाधान गर्नुपर्छ।”
उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटा नगरपालिकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सिस्डोल क्षेत्रमा पनि फोहोर व्यवस्थापनबारे विवाद कायमै छ। यसअघि गत असोज पहिलो साता सिस्डोलबासीले नयाँ ल्याण्डफिल्ड साइटमा पनि फोहोर लैजान नदिने भनेपछि फोहोर जान सकेको थिएन।
सिस्डोलमा वि.सं २०६२ मा दुई वर्षको लागि फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएकोमा पटकपटक विस्तार गरेर अहिलेसम्मको फोहोर व्यवस्थापन गरिँदै आएको छ। तत्कालीन समसयमा उक्त ल्यान्डफिल्डको क्षमता ६ दशमलव ५ लाख मेट्रिक टन मात्र थियो। अस्थायी ल्यान्डफिलमा काठमाडौँ उपत्यकाबाट अहिलेसम्म निरन्तर फोहोर थुपार्दै आएपछि फोहोरको पहाड नै बनेको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका १८ वटै नगरपालिकामा करिब ११ सय मेट्रिक टन भन्दा बढी फोहोर उत्पादन हुने गरेको छ। जसमध्ये ७५ प्रतिशत फोहर सिसडोलमै बिसर्जन हुने गरेको छ।
करिब २६ वर्ष पहिले २०५१ सालमा काठमाडौंको फोहोर व्यवस्थापनका लागि निर्माणको निर्णय भएको बञ्चरेडाडा स्यानिटरी ल्यान्डफिल्ड साइट लगभग अन्तिम चरणमा छ। स्थानीयले भने सिस्डोलको फोहोरको पहाड व्यवस्थापन नगरेसम्म लैजान नदिने अडान कायमै राखेमा छन्। शहरी विकास मन्त्रालयले १ अर्ब ६५ करोड लागत अनुमान गरी २०७६ वैशाख १२ गते साइटको शिलान्यास गरेको थियो।
उक्त ल्यान्डफिल्ड साइट निर्माण क्षेत्रको क्षेत्रफल १ हजार ७ सय १९ रोपनी छ। धादिङ र नुवाकोटका स्थानीयले थप ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने माग गर्दै आएका छन्। हाल अधिग्रहण भएको क्षेत्रभन्दा तीन किलोमिटर वरिपरि अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ। उक्त ल्यान्डफिल्ड साइटले उपत्यकाको फोहोर ५० वर्षसम्म धान्न सक्ने बताइएको छ।
Facebook Comment
Comment