सुर्खेत। कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकालाई खरको छानामुक्त घर बनाउने अभियान शुरु भएको छ। गाउँपालिकामा रहेको खरको छानायुक्त घर चालु आर्थिक वर्षमा नै विस्थापन गर्ने उद्देश्यले खरका छानामुक्त घर बनाउने अभियान शुरु गरिएको हो।
गाउँपालिकाले अभियानको पहिलो चरणमा गाउँपालिकाको वडा ५ लाई खरको छानामुक्त वडा बनाउने अभियान सुरु भएको छ। विपन्न परिवारका ३९ घरका छानामा जस्तापाता लगाएर वडा कार्यालयले वडाका सबै घरलाई खरका छानामुक्त बनाउने अभियान सुरु गरेको हो।
वडा कार्यालय सञ्चालनका लागि आएको गाउँपालिकाबाट प्राप्त १० लाख रुपैयाँले वडाका ३९ घरका छाना जस्तापाताले छाइएको वडाध्यक्ष नरेश बमले बताए। ‘खरका छाना भएका घरमा आगलागीको बढी जोखिम बढी हुने भएकाले खरका छाना हटाउने अभियान नै सञ्चालन गरेका छौं।’ उनले भने, “विपन्न परिवारलाई थप संकटबाट मुक्त गराउन खरको छानामुक्त गराउन जस्तापाता उपलब्ध गराइएको छ।”
गरिबका घरको छाना हाल्ने काम महत्वपूर्ण ठानेर विपन्न परिवार छनोट गरी उनीहरुको घरलाई जस्तापाता उपलब्ध गराइएको अध्यक्ष बमको भनाइ छ।
वडा अध्यक्षले आफैं पनि स्रोत खोज्ने र केही गाउँपालिकाबाट बजेट विनियोजन भएकाले उक्त वडाले जस्तापाता सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले जानकारी दिए।
“पालिका भित्रका खरका छाना भएका घरको लगत संकलन कार्य जारी रहेको छ,” उनले भने, “ती घरको लगत संकलन कार्य सकिएपछि जस्तापाता खरीद गरेर खरका छानामुक्त घर निर्माण गरिनेछ।”
Facebook Comment
Comment