काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीविरुद्ध प्रदर्शन गर्ने भएको छ। आफ्नै पार्टी आबद्ध सरकारले एमसीसी संसदमा टेबल गर्न लागेको भन्दै उसले सडक संघर्ष गर्ने बताएको हो।
पार्टीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसी टेबल गर्न नरोक्ने निर्णय गरेको थियो। तर, पार्टीनिकट विद्यार्थी संगठन भने विरोधमा उत्रिएको हो। अनेरास्ववियुले आज एमसीसीविरुद्ध काठमाडौंको मीनभवनमा प्रदर्शन गर्ने जनाएको छ।
बिहान ११ बजेदेखि एमसीसीविरुद्ध प्रदर्शन गरिने जनाइएको छ।
संसदमा एमसीसी टेबल गर्नबाट नरोक्ने निर्णय गरे पनि जबर्जस्ती नभएर सहमतिका आधारमा आधारमा यसलाई अघि बढाउनुपर्ने नेकपा एसले हिजो निर्णय गरेको थियो।
‘‘टेबल गर्ने कुरा आपत्तिजनक होइन, अफ्ठेरो मानेका छैनौं। आम जनताले, संसदले प्रत्येकले बहस गर्न पाउने विषय छ। संसदमा छलफल गर्नुपर्ने हो, संसदले पारित गर्नुपर्ने हो भने छलफल नगरी पारित हुँदैन,’’ हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘‘यसपूर्व केही विषयहरु प्रस्ट हुनुपर्छ, जबर्जस्त टेबुल गरिने छैन। एउटा सहमति बन्नुपर्नेछ, संसदको अवरोध हट्नुपर्नेछ, अनिमात्रै टेबुल गर्ने वातावरण बन्छ।’’
तर अनेरास्ववियुले भने आफ्नै पार्टीको निर्णयविपरीत एमसीसी संसद्मा लैजान नहुने यसविरुद्ध प्रदर्शन नै गर्ने भएको हो।
*शीर्षक सच्याइएको
Facebook Comment
Comment