गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा मकै विवाह पर्व मनाइएको छ। मकैको बिहे नगरी बारीमा रोप्न नहुने जनविश्वास यस क्षेत्रका नागरिकहरूमा रहेको छ।
यस वर्ष समयमै मकै बिहे भएको कारण चाँडो गरी मकै रोप्नेहरूका लागि सहज भएको वडा अध्यक्ष राज गुरुङले बताए। मकै बिहेमा गाउँभरिका नागरिकहरूले जन्त लैजाने मकैबाट बनेका परिकारहरू खाने गर्दछन्।
विधिवत रुपमा मकैको पूजा गरी बिहे गरेपछि मकै रोप्ने कार्य सुरु हुने वडाध्यक्ष गुरूङले बताए।
मकै विवाहका दिन सबेरै गाउँका मानिसहरू लाप्राकस्थित ठूलोआँगनमा भेला हुन्छन्। सिँगारिएका बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासँगै जन्ती जाने गर्छन्। ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जङ्गलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ। जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँ परिक्रमा गर्छन्।
जन्ती जाने क्रममा प्रत्येक घरका मानिसहरूले घरमा रहेको सबै भन्दा ठूलो घोगा मकै लिएर जानुपर्दछ। जन्तीले ल्याएका मकैलाई एकै ठाउँमा जम्मा गरेर चोख्याइन्छ र साँझ नाचगान गरी उक्त मकै भुटेर खाने चलन रहेको छ वडा अध्यक्ष गुरुङले बताए।
Facebook Comment
Comment