काठमाडौं । टी-ट्वान्टी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा फिलिपिन्सविरुद्ध नेपालले १३६ रनको फराकिलो जित निकालेको छ।
अल अमिरात क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको २१९ रनको विशाल लक्ष्य फिलिपिन्सले भट्टाउन सकेन। नेपालले मात्र २ विकेटको क्षतिमा यो योगफल तयार पारेको थियो।
उसले पूरै ओभरमा ८ विकेटको क्षतिमा मात्र ८२ रन बनाउन सक्यो।
आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ६१ बलमा शतक र ४ रन बटुले। दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ८३ रन जोडे।
शून्य रनमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालले शुरुआती अवस्था खराब देखाए पनि कुशल र दीपेन्द्रको जोडीले ऐतिहासिक रन बटुले। टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितमा कुशलको यो रन सर्वाधिक तेस्रो हो।
नेपालका कप्तान तथा स्पिन बलर सन्दीप लामिछानेले महत्वपूर्ण तीन विकेट लिए। आजै अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यु गरेका गुलशन झाले पनि एक विकेट लिन सफल भए।
फिलिपिन्सका कुनै पनि ब्याटरको जादू चल्न सकेन। जोर्डर अलिग्राले सर्वाधिक २७ रन बनाउन बाहेक अन्य ब्याटरले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। पहिलो खेलमा ओमानलाई हराएको नेपालको यो दोस्रो जित हो। यो जितसँगै नेपालले रनरेटमा पनि सुधार गरेको छ। ओमानलाई नेपालले ३९ रनले हराएको थियो।
फिलिपिन्सले भने प्रतियोगितका दुवै खेलमा पराजय भोगेको छ। पहिलो खेलमा क्यानडासँग ११८ रनले रनले हारेको उसले आज झन् फराकिलो हार बेहोरेको हो। अब नेपालले पर्सि क्यानडासँग खेल्दै छ। आजको जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना झन् बलियो बनेको छ।
आजै भएको अर्को खेलमा नेपालसँग हारेको ओमानले भने क्यानडालाई ९ विकेटको ठूलो अन्तरले हराएको छ। क्यानडाले ६ विकेट गुमाएर दिएको १५५ रनको लक्ष्य ओमानले १२ बल बाँकी छँदै भेट्टाएको हो।
Facebook Comment
Comment