अहमदाबाद विष्फोटमा ५६ जनाको ज्यान लिने ४९ आतंककारीमध्ये ३८ जनालाई भारतको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
बाँकी ११ जना जीवनभर जेलमै रहनेछन्। मुलुकमा पहिलो पटक एकैपटक ३८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। यसअघि राजीव गान्धी हत्याकाण्डमा २६ जनालाई यो सजाय दिइएको थियो। सजायको खबर सुनेर विष्फोटका मुख्य योजनाकार नागोरीले भने, ‘हामी कुरानको फैसलालाई मात्र मान्छौँ।’
सन् २००८ मा अहमदाबादमा भएको श्रृंखलाबद्ध विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो। विशेष अदालतले विष्फोटका ४९ दोषीलाई सजाय सुनाएको हो।
गत फेब्रुअरी ८ मा नगरवासी अदालतले ७८ जनामध्ये ४९ जनालाई यूएपीए (अनलफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट) अन्तर्गत दोषी ठहर गरेको थियो। दोषीमध्ये एक अयाज सैयदलाई अनुसन्धानमा सहयोग गर्न सफाइ दिइएको छ।
प्रमाण अभावमा २९ अभियुक्तले सफाइ पाएका छन्। फैसला सुनाउँदै अदालतले विष्फोटमा मारिएकाका परिवारलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ दिने आदेश पनि दिएको छ।
२६ जुलाई २००८ मा यो घटना भएको थियो। ७० मिनेटभित्र २१ वटा बम विष्फोट भएका थिए। जसले अहमदाबादलाई तहसनहस पारेको थियो। जहाँ ५६ जनाको मृत्यु भएको थियो भने २०० जना घाइते भएका थिए।
विष्फोटको अनुसन्धान धेरै वर्ष चलेको थियो। करिब ८० जना अभियुक्तमाथि मुद्दा चलाइएको थियो। पुलिसले अहमदाबादमा २० ओटा एफआईआर (first invetigation report) दर्ता गरेको थियो, जबकि अन्य एफआईआर सुरतमा दर्ता गरिएको थियो, जहाँ विभिन्न ठाउँबाट नपड्किएका बमहरू पनि बरामद भएका थिए।
Facebook Comment
Comment