धनगढी। धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन्। आज भएको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो। उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले। ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए।
सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले। त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए। गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २/२ विकेट लिए।
२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।
गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २/२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १/१ विकेट लिए। खेलको प्लेयर अप दी म्याच घोषित भएका सन्तोष कार्कीले सर्वाधिक छक्काको अवार्ड पनि पाए।
गेम चेन्जर अवार्ड भने सन्दीप खत्रीले पाए। आज भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भयो।
टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो। उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहने।
होलिल्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अवि नारायण कोइरालाले एक विकेट लिए। १ सय ५८ रनको विजयी लक्ष पछ्याएको होलिल्याण्डले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो। होलिल्याण्डका लागि दीपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए। कृष्ण भट्टले ४२ बलमा नट आउट ४२, गजेन्द्र बोहराले २०, अविशेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए।
बलिङतर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १/१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए। गेम चेन्जर अवार्ड दीपक टमाटाले पाउँदा सर्वाधिक छक्काको अवार्ड खडक बोहरा र दीपक टमाटाले पाए।
प्रतियोगिताअन्तर्गत भोलि पहिलो खेलमा बिहान ९ः३० बजे काठमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाका एभरेस्ट एकेडेमी आमनेसामने हुनेछन्। भोलि नै दोस्रो खेलमा दिउसो १ः३० बाट विद्याभुषण र गुरुकुल प्रतिस्पर्धा गर्नेछन्।
Facebook Comment
Comment