काठमाडौं। यसै वर्ष अक्टोबरमा अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपको छनोटका लागि शुक्रबारदेखि ओमानमा छनोट प्रतियोगिता शुरु हुँदैछ। प्रतियोगिताको समूह चरणमा पहिलो खेलमा शुक्रबार नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
छनोट प्रतियोगितामा आठ टिमले सहभागिता जनाउँदैछन्। जसमध्ये प्रतियोगिताको फाइनल खेल्ने दुई टिम विश्वकपका लागि पनि छनोट हुनेछन्।
उक्त खेलअघि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको टिम सन्तुलित रहेको र प्रतिभाशाली खेलाडी भएकोले उत्कृष्ट दुई टिमको रूपमा नेपाल विश्वकपका लागि छनोट हुने बताएका छन्।
उनी भन्छन्, “हामी छनोट प्रतियोगिताका लागि तयार छौं र खेलाडीहरू आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा खुशी छन्। सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट हुँदै इतिहास रच्नेछौं।”
नेपाल सन् २०१४ मा पहिलोपटक टी–ट्वान्टी विश्वकपमा लागि छनोट भएको थियो। त्यसपछिका संस्करणमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्न पाएको छैन।
उनीले थपे, “विश्वकप छनोटमा हाम्रो राम्रो सम्भावना रहेको छ। यो टी–ट्वान्टी फर्म्याटमा यो कुराले अर्थ राख्दैन कि हामी टेष्ट प्लेइङ राष्ट्रविरुद्ध खेलिरहेका छौं कि एशोसियट राष्ट्रसँग। हाम्रो टिममा सिनियर र युवा खेलाडीको मिश्रण छ जसलाई हराउन अन्य टिमलाई निकै गाह्रो पर्नेछ।”
२१ वर्षीय सन्दीप यो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा कप्तानी गर्ने आठौं कान्छा खेलाडी हुन्। यसै हप्ता चारदेशीय सिरिजबाट उनको कप्तानीको शुरुआत भइसकेको छ। तर यो छनोट प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण छ र युवा कप्तानका रूपमा उनको परीक्षा पनि हुनेछ।
“कप्तानको रूपमा मेरो काँधमा ठूलो जिम्मेवारी छ र म यो पटकको जिम्मेवारीलाई यादगार बनाउन चाहन्छु। विश्वकप खेल्नु हाम्रो सपना हो। मलाई लाग्दैन कि युवा कप्तान भएका कारण नै केही समस्या पर्छ, किनकि मलाई सिनिअर खेलाडीको भरपूर सहयोग छ। म आफूलाई भाग्यमानी ठान्छु कि मेरा वरिपरि अनुभवी खेलाडी छन्,” सन्दीपले भने।
नेपालले समूह चरणमा ओमानपछि शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। यसपछि शीर्ष दुईभित्र पर्न सके नेपाल सेमिफाइनलमा पुग्नेछ भने सेमिफाइनल पनि जितेमा विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
Facebook Comment
Comment