एलपीएलमा एभरेस्ट र गुरुकुलको विजयी सुरुवात

नेपालभ्युज

एलपीएलमा एभरेस्ट र गुरुकुलको विजयी सुरुवात

धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालयस्तरीय टी–ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंलिस स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्यो।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा भएको खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षतिमा भेटायो। एभरेस्टको ब्याटिङमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए। यस क्रममा २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप विस्टले १२ रन बनाए।

यसअघि टस जितेर ब्याटिंग गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए।

एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए। यसक्रममा ३ ओभर बलिंङ गर्दै १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए। त्यस्तै गोविन्द विस्टले दुई तथा दिपक रोकायाले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए। आजै सम्पन्न दोश्रो खेलमा गुरुकुल इंलिस स्कुल, लम्कीले स्टेपिंग स्टोन स्कुल धनगढीलाई पराजित गर्यो।

गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोनले १५.५ ओभर ५६ रनमा सम्पूर्ण विकेट गुमायो। स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समिर रानाले तीन विकेट लिए भने बसिर एहमद र विशाल केसीले समान दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिंग गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो। गुरुकुलबाट अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका वशिर एहमदले सर्वाधिक ४१ रन बनाए। यसक्रममा उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनानले ३९ र विशालबिक्रम केसीले ३७ रन बनाए।

दिनेश अधिकारीले १६ र कृष कार्कीले १५ रन योगदान दिए। स्टेपिंग स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, विरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved