जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्न सुरु गरेको छ। एक महिनाभन्दा अघिदेखि ई–पासपोर्टका लागि सेवाग्राहीको फर्म भर्ने र अन्य आवश्यक कागजात सङ्कलनको काम गरिरहेको थियो।
कार्यालयले राहदानी विभाग काठमाडौंंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सोमबारदेखि वितरण गर्न सुरु गरेको सो कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोमबार तीन जना सेवाग्राहीलाई ई–पासपोर्ट हस्तान्तरण गरी वितरण कार्य शुरू गरे।
प्रमुख जिल्ला अधिकारी गौतमले ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आफ्नो पासपोर्ट लिएर जान सक्ने जानकारी दिए। कार्यालयले आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई ई–पासपोर्ट वितरण गरिने जनाएको छ।
राहदानी विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ। एमआरपीको तुलनामा विद्युतीय राहदानी बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ।
Facebook Comment
Comment