नयाँदिल्ली। भारत सरकारले पत्रकार र मिडियाकै मान्यता रद्द गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। सूचना र प्रसारण मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा यस्तो व्यवस्था छ।
भारतको सम्प्रभुता वा अखण्डता, राज्यको सुरक्षा, विदेशी राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धविरुद्ध कार्य गर्ने पत्रकार वा सञ्चारमाध्यमको मान्यता निलम्बन वा रद्द गर्न सकिने प्रावधान ल्याइएको हो ।
त्यस्तै, अदालतको मानहानि गर्ने वा सार्वजनिक आदेशविरोधी गतिविधि गर्ने वा अपराधका लागि भड्काउनेको पनि मान्यता निलम्बन वा रद्द गर्न सकिने प्रावधान समेटिएको छ।
केन्द्रीय मिडिया मान्यता दिशानिर्देश, २०२२ मा पत्रकारको मान्यता निलम्बन वा रद्द गर्न सकिने विभिन्न १० बुँदा समेटिएका छन्।
कुनै पत्रकारले ‘गैरपत्रकारिता गतिविधि’ का लागि सरकारबाट प्राप्त मान्यताको प्रयोग गरेको खण्डमा ‘गम्भीर अपराध’ को मुद्दा चलाउन सकिने उल्लेख छ। र, त्यस्तो व्यक्तिको मान्यता निलम्बन हुने जनाइएको छ।
Facebook Comment
Comment