अस्पतालको समस्याप्रति दलहरूको चासो

अस्पतालले ओएनएमएस सर्भे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए।

नेपालभ्युज

अस्पतालको समस्याप्रति दलहरूको चासो

विराटनगर। ‘हामीबाट शुरु भएको समस्या हामी जहाँ–जहाँ जान्छौँ त्यहीँ जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन्।

विराटनगरको कोसी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश नं १ कै नमूना अस्पताल बनाउन मोरङका राजनीतिक दलका नेताले सो प्रतिबद्धता जनाएका हुन्। कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समूह प्रदेश नं १ द्वारा मंगलबार आयोजित संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो।

विशेषज्ञ चिकित्सक नबस्ने, सूचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहुँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि दलहरूसँग संवाद आयोजना गरिएको हो। संवादमा दलहरूले कोसी अस्पताललाई नमूना अस्पतालका रूपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरूले साझा पहल गर्ने, अस्पतालको क्षमता विस्तार गरी ५०० शय्याको बनाउन भएको ओएनएमएस सर्भे पारित गराउन भूमिका खेल्ने सहभागीको भनाइ थियो।

अस्पतालले ओएनएमएस सर्भे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए।

संवादमा अस्पतालको सही व्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरी समस्या समाधानमा सकारात्मक पहल गर्ने नेताहरुले बताएका छन्। प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री तथा प्रदेशसभा सदस्य जीवन घिमिरेले कोसी अस्पतालको बिग्रिएको शाख जोगाउनुपर्ने अहिलेको चुनौती रहेको बताए।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहका बारेमा सूचना प्रणाली व्यवस्थित नभएको र सूचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अस्पतालको अवस्था भएको बताए। नेकपा (एमाले)का सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही व्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने धारणा राखे।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मीले नागरिकप्रति जवाफदेही नहुने चिकित्सकलाई कारबाही गर्ने हो भने सबै समस्या हल हुने बताए। जसपाका नेता राजकुमार यादवले अस्पतालले बिनाविभेद बिरामीको उपचारमा ध्यान दिनुुपर्ने धारणा राखे।

लोसपाका नेता मोहम्मद कादिरले ग्रामीण क्षेत्रबाट आउने सर्वसाधारणलाई अस्पतालमा धेरै दुःख हुने गरेको गुनासो बारम्बार सुनिने गरेको बताए। राप्रपाका नेता माधवराज आचार्य र टंग गुरागाईँले अर्थावस्था कमजोर भएका व्यक्ति उपचारका लागि जाने गरेकाले यस्तो अवस्थामा नागरिकका गुनासा सुन्न हेल्प डेस्क राख्नुुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved