सरकारले आधिकारिक निर्णय गर्न नसक्दा स्थानीय तह र विद्यालय अन्योलमा

नेपालभ्युज

सरकारले आधिकारिक निर्णय गर्न नसक्दा स्थानीय तह र विद्यालय अन्योलमा

काठमाडौं। ‘कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ (सीसीएमसी)ले विद्यालय खोल्न सिफारिस गरे पनि सरकारले यसबारे केही निर्णय गर्न नसक्दा स्थानीय तह र विद्यालय अन्योलमा परेका छन्।

सीसीएमसी को २३ माघमा बसेको बैठकले १ फागुनबाट १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्न सुझाएको छ।

१२ वर्षभन्दा माथिका विद्यार्थीले पहिलो डोज लगाइसकेका र २६ माघबाट दोस्रो डोज खोप अभियान सञ्चालन भइरहेकाले १ फागुनबाट स्कुल खोल्न सिफारिस गरेको सीसीएमसीको तर्क छ।

“हाम्रो प्राथामिकता स्वास्थ्य नै हो, त्यसैले विद्यार्थीलाई २ मिटरको दूरी र  मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न सुझाएका छौं”, सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, “केही समय निरीक्षण गर्छौं संक्रमणदर बढे जिल्ला कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) लाई कोभिडको जोखिम विश्लेषण गरेर स्मार्ट लकडाउनको कार्यविधि अनुसार कडाई गर्न सक्ने भनेर उल्लेख गरेका छौं।”

सम्बन्धित जिल्लाको अवस्था अनुसार डीसीसीएमसीले विद्यालय सञ्चालन गर्नेबारे निर्णय गर्ने अधिकार दिइएको उनी बताउँछिन्।

सीसीएमसीले यस्तो भने तापनि शिक्षकहरू भने विद्यालय खोल्नेबारे अन्योलमा छन्।

“सीसीएमसीले सिफारिस गरे पनि सरकारले निर्णय नगरेकाले अन्यौल भएको छ”, निलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका नेपाल भन्छिन्, “हाम्रोमा भौतिक संरचना कम छ। १२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा छलफल गरेरै टुंगो लगाउछौँ।”

पशुपति मित्र माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पण्डित सरकारले निर्णय गरे भौतिक रुपमा स्कुल खोल्न तयार रहे पनि निर्णय नआइसकेकाले अन्योलमा रहेको बताउँछन्।

“हामी विद्यालय खोल्न तयार छौं तर भौतिक दूरी पालना गर्न सम्भव छैन”, उनी भन्छन्,  “विद्यालयको भौतिक संरचना बनिरहेको छ अहिले जस्ताले बारेको टहरामा जसोतसो व्यवस्थापन गरेर पढाइरहेका छौं त्यसैले भौतिक दूरी पालना गर्न सकिदैँन।”

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक रिता तिवारी पनि सरकारले निर्णय गरे १ फागुनबाटै विद्यालय खोल्न तयार रहेको बताउँछिन्।

“हामी भौतिक रुपमा विद्यालय खोल्ने तयारीमा छौं, आवश्यक भौतिक संरचना पनि छ। सीसीएमसीले सिफारिस गरे अनुसार सरकारले निर्णय गरे स्कुल सञ्चालन गर्छौ, बन्द गर्न भने मात्र बन्द गर्छौँ”, उनले भनिन्।

अन्योल स्थानीय तह

काठमाडौं महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदी भन्छन्, “सीसीएमसीले सिफारीस मात्र गरेको हुनाले विद्यालय खोल्ने निर्णय गर्न गाह्रो भयो। मन्त्रालय वा केन्द्रीय निकाय वा क्याबिनेट कुनै एउटा निकायले सर्कुलर गरेर सुचना गरे सहज हुन्थ्यो।”

उनका अनुसार पहिला पनि सीसीएमसीले गरेका सबै सिफारिस लागू नभएकाले विद्यालय खोल्ने सिफारिस कार्यान्वयन गर्न कठीन भएको हो।

उनी भन्छन्, “विद्यालयहरू १ फागुनबाट खोल्ने मनस्थितीमा छन् तर माथिल्लो निकायले अर्को निर्णय नगरेसम्म हामीलाई स्कुल खोल्ने अनुमति दिन अप्ठ्यारो पर्ने भएकाले भएका मन्त्रालयको सूचना कुरिरहेका छौं।”

महानगरपालिकाले विद्यालयलाई तयार अवस्थामा रहन अनौपचारिक तवरमा सुझाव भने दिएको उनले बताए।

ललितपुर महानगरपालिकाको अवस्था पनि उस्तै छ।  शिक्षा शाखा प्रमुख महेन्द्र बहादुर क्षेत्री भन्छन्, “सीसीएमसीले मन्त्रालयलाई सिफारीस गरेको हो। मन्त्रालयले निर्णय गरेपछि मात्र विद्यालयलाई खोल्ने अनुमति दिन्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved